काठमाडौं, ५ माघ । प्रतिनिधिसभा बैठकमा हत्या अभियोग लागेका सांसदबारे प्रश्न उठेपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रश्नको जवाफ दिएका छन् । लामिछानेले गृह मन्त्रालय विधि र पद्धतीभन्दा बाहिर नजाने बताए ।
यसअघि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले हत्या अभियोग लागेका सांसद पनि प्रतिनिधिसभामा उपस्थित रहेको सुनिन आएको भन्दै गृहमन्त्री रवि लामिछानेसँग जवाफ माग गरेका थिए । उनले एमाले सांसद लक्ष्मी कोइरी महत्तोमाथि लक्षित गर्दै प्रश्न उक्त प्रश्न गरेका थिए ।
सभामुखले यसबारे कुनै रुलिङ नगरे पनि लामिछानेले खतिवडाले उठाएको प्रश्नको जवाफ दिएका छन् । उनले भने, ‘विधि र पद्धतिभन्दा बारिह गएर गृह मन्त्रालय एक इन्च बाहिर निस्किँदैन । यो ग्यारेन्टी गराउन चाहन्छु । त्यसको एउटा प्रक्रिया छ । त्यसमा कसैले दबाब र प्रभाव दिनुहुने छैन भन्ने यसअगाडि नै सदनलाई जानकारी गराइएको छ ।’
आफ्नो नेतृत्वको मन्त्रालयले कर्मचारी सरुवा बढुवामा समेत विधि स्थापित गर्न चाहेको समते उनले बताए ।
महोत्तरी १ बाट निर्वाचित नेकपा एमालेका सांसद लक्ष्मी कोइली महतोमाथि मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्यासम्बन्धी अभियोग छ । उनलाई उच्च अदालतले थुनामा राख्न आदेश दिएको थियो । गृहमन्त्री लामिछानेले पटक–पटक सांसद महतोलाई पक्राउ गरिने बताइरहे पनि उनी पक्राउ परेका छैनन् ।