
काठमाडौं, ५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई बधाई दिएका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले बहराइन सरकारले प्रदान गर्ने १० लाख अमेरिकी डलरको पुरस्कार राशिको इसा अवार्ड प्राप्त गरेकोमा डा. सन्दुकको प्रशंसा गर्दै बधाई दिएका हुन् ।
पुरस्कार प्राप्त गरेपछि रुइतले सरकारसँग राखेका अपेक्षाका बारेमा पनि आफू गम्भीर रहेको उनले बताएका छन् । प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘मानव कल्याणको क्षेत्रमा उहाँको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय छ । राज्यसँग उहाँले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ ।’
नेपाल र विदेशका गरी लाखौं मानिसको आँखा उपचार गरेर उज्यालो जीवन दिएको भन्दै डा.रुइतलाई १३ करोड नेपाली रुपैयाँ बराबरको इसा अवार्ड प्रदान गरिएको हो ।
