युक्रेनमा हेलिकप्टर दुर्घटना- आन्तरिक मामिला मन्त्रीसहित १८ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७९, ४ माघ

काठमाडौं, ४ माघ । युक्रेनमा हेलिकप्टर दुर्घटना हुँदा त्यहाँको आन्तरिक मामिला मन्त्रीसहित १८ जनाको मृत्यु भएको छ ।

राजधानी कीभको पूर्वी उपनगरमा रहेको एउटा बालबालिका पढ्ने विद्यालय (नर्सरी) नजिकै हेलिकप्टर दुर्घटना हुँदा त्यहाँका आन्तरिक मामिला मन्त्री डेनिस मोनास्टिरस्की सहित १८ जनाको मृत्यु भएको हो ।

अधिकारीहरुका अनुसार मन्त्री मोनास्टिरस्कीको पहिलो उपमन्त्री येभेन येनिन र राज्य सचिव युरी लुब्कोविचको पनि मृत्यु भएको छ ।

ज्यान गुमाएकामध्ये तीन बालबालिका छन् भने थप १५ जनाको अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ । कीभको क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेक्सी कुलेबाले ब्रोभरीमा भएको दुर्घटनामा २९ घाइते भएको बताएका छन् ।

दुर्घटनाको समयमा अँध्यारो र कुहिरो लागेको बताइएको छ । हेलिकप्टर दुर्घटनापछि बालगृह नजिकै आगो लागेको थियो र बालबालिका र कर्मचारीहरूलाई भवनबाट सारिएको छ ।

४२ वर्षीय आन्तरिक मन्त्री राष्ट्रपति भोलोडिमी जेलेन्स्कीको मन्त्रिपरिषद्का प्रमुख सदस्य थिए र उनले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गरेदेखि रूसी मिसाइल हमलाबाट भएको हताहतीको बारेमा जनतालाई अपडेट गर्नमा प्रमुख भूमिका खेलेका थिए।

प्रतिक्रिया