पल शाहले पाए सफाइ
अखबार टुडे
प्रकाशित:
२०७९, ३ माघ

तनहुँ, ३ माघ । अभिनेता तथा मोडल पल शाहले अदालतबाट सफाइ पाएका छन् । नाबालिगमाथि बलात्कारको आरोप लागेका अभिनेता शाहलाई मंगलबार जिल्ला अदालत तनहुँले सफाइ दिएको हो ।

मंगलबार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले पनि पुष्टि गरेका छन् । उनले भने, ‘हो, पलले आज अदालतले सफाइ दिएको छ ।

जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ । जोशीलाई उक्त प्रकरणमा सहयोगी भूमिका खेलेको आरोप थियो ।

एक नाबालिगलाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो । सोही मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले भने शाहलाई बलात्कार मुद्दामा सफाइ दियो भने बालयौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।

नवलपुर अदालतको फैसलाविरुद्ध पलले उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन् । गत फागुन ११ गते नाबालिकाका बुबाले पलविरुद्ध तनहुँ र नवलपुर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । त्यसपछि फरार रहेका पलले फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए ।

प्रतिक्रिया