नयाँ १२ मन्त्री र तीन राज्यमन्त्रीले लिए शपथ
अखबार टुडे
प्रकाशित:
२०७९, ३ माघ

काठमडौं, ३ माघ । आज (मंगलबार) नियुक्त भएकाथप नयाँ १२ मन्त्री र तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुलाई शितल निवासमा पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् ।

माओवादीबाट रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री, अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, सुदन किराँती पर्यटन तथा नागरिक उड्ययनमन्त्री र सुशीला श्रीपाली भौतिक पूर्वाधार राज्यमन्त्री भएकी छन् । माओवादीबाटै नारायणकाजी श्रेष्ठ यसअघि नै उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् ।

एमालेबाट हरि उप्रेती रक्षामन्त्री, विमला राई पौडेल परराष्ट्र, स्वास्थ्य मन्त्रीमा पदम गिरी, महिला बालबालिकामा भगवती चौधरी, ज्वालाकुमारी साह कृषि मन्त्री, राजेन्द्र राई भूमि व्यवस्था सहकारी मन्त्री, दामोदर भण्डारी उद्योग मन्त्रीमा भएका छन् । एमालेबाट विष्णु पौडेल यसअघि नै उपप्रधान तथा अर्थमन्त्री भइसकेका छन् । पौडेलसँगै,राजेन्द्र राई,ज्वाला कुमारी साह र दामोदर भण्डारी मन्त्री बनिसकेका थिए । तर, मन्त्रालय भने तोकिएको थिएन ।

राष्ट्रिय प्रजात्नत्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जा तथा जलस्रोत मन्त्री बनेका छन् । सहरी विकासमन्त्रीमा उपाध्यक्ष बिक्रम पाण्डे र कानुनमन्त्रीमा ध्रुवबहादुर प्रधान रहेका छन् । राप्रपाबाटै दीपक सिंह उर्जा राज्यमन्त्री बनेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल शिक्षामन्त्री, डिपी अर्याल श्रम मन्त्री र तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री भएकी छन् । रास्वपा अध्यक्ष रवि लामिछाने यसअघि नै उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका छन् ।

जनमत पार्टीका अब्दुल खानले वन मन्त्रीको शपथ लिएका छन् । जनता समाजवादी पार्टी (जसपा) भने सरकारमा गएका छैनन् । जसपालाई २ मन्त्रालय छुटाइए पनि उपराष्ट्रपति पाउनु पर्ने दाबी गरेका थिए ।

प्रतिक्रिया