यती विमान दुर्घटना : भेटियो ब्ल्याक बक्स, हराइरहेका ४ जनाको खोजी जारी
अखबार टुडे
प्रकाशित:
२०७९, २ माघ

काठमडाौं, २ माघ । आइतबार बिहान पोखरामा दुर्घटनाग्रस्त भएको यती एयरलाइन्स विमानको ब्ल्याक बक्स भेटिएको छ ।

सोमबार बिहानैदेखि खोजी तथा उद्धार पुनः सुरु गरिएकोमा थियो । सोक्रममा विमानको ब्ल्याक बक्स सुरक्षित रुपमा भेटिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’ हुन्छ ।

प्रवक्ता निरौलाका अनुसार ब्ल्याक बक्स नेपाली सेनालाई बुझाइएको छ । उक्त ब्ल्याक बक्स आजै काठमाडौँ ल्याउने र दुर्घटना जाँच आयोगलाई बुझाइने प्राधिकरणको भनाइ छ ।

आज बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार कार्य जारी राखेको छ । विमान दुर्घटनामा ६८ जनाको शव भेटिएको छ भने हराइरहेका ४ जनाको खोजी जारी छ । भेट्न बाँकी शव चारै जना बालबालिका रहेको बताइएको छ ।

विमानमा ७२ जना सवार थिए । जसमा ६८ यात्रु र ४ जना चालक दलका सदस्य थिए । यात्रुहरुमा ५३ जना नेपाली थिए । बाँकी विदेशी थिए ।

विदेशी यात्रुहरुमा भारतका ५ जना, रसियाका ४ जना, कोरियाका २ जना, आयरल्याण्ड, अस्ट्रेलिया, अर्जेन्टिना र फ्रान्सका ११ जना थिए । जसमा महिला २५, पुरुष ३७, बालक ३ र शिशु ३ जना थिए ।

प्रतिक्रिया