यती विमान दुर्घटना : बिहानैदेखि खोजी तथा उद्दार सुरु, सनाखत भएका शव आफन्तलाई बुझाइँदै
अखबार टुडे
प्रकाशित:
२०७९, २ माघ

कास्की, २ माघ । पोखरामा आइतबार बिहान भएको विमान दुर्घटनाको खोजी तथा उद्दार कार्य आज बिहानैदेखि सुरु भएको छ । आइतबार रातिसम्म उद्दार खोजी गरिएपनि सबै शव नभेटिएपनि स्थगित गरिएको थियो । अहिले सुरक्षाकर्मीको टोली उद्धार कार्यमा लागेको छ ।

आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको नाइन–एन एएनसी एटीआर विमान अवतरणअघि दुर्घटना भएको थियो । विमानमा चालक दलका चार जना सदस्यसहित ७२ जना रहेका थिए, त्यसमध्ये आइतबार साँझसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य बेपत्ता छन् ।

यस्तै, आइतबार मृत्यु भई सनाखतसमेत भएका शवलाई भने आज प्रक्रिया पूरा गरेर आफन्तको जिम्मा लगाउन लागिएको छ ।
दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू विहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए ।

पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौँमा आफन्त भएका व्यक्तिको शव हेलिकप्टरमार्फत पठाउने तयारी गरिएको छ ।

प्रतिक्रिया