यतीको विमान दुर्घटना : उद्दार कार्य सोमबार बिहानसम्मलाई स्थगित
अखबार टुडे
प्रकाशित:
२०७९, १ माघ

काठमाडौँ । आइतबार बिहान पोखरामा भएको विमान दुर्घटनामा हराइरहेका यात्रुको खोजी कार्य भोलि बिहानसम्मलाई स्थगित गरिएको छ । पुनः सोमबार बिहानैदेखि खोजी कार्य सुरु गरिने नेपाली सेनाले जानकारी दिएको छ ।

रातको समयमा सो कार्यलाई निरन्तरता दिन कठिन भएकाले भोलि बिहानैदेखि खोजी कार्य सुचारु गर्ने गरी फौज घटनास्थलमै रहेको नेपाली सेनाले जनाएको हो ।

आइतबार बिहान १०ः३२ बजे काठमाडौँबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलसहित ७२ जना सवार यती एयरलाइन्सको एटीआर विमान अन्दाजी ११ बजे पोखराको सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो ।

खबर प्राप्त हुनासाथ नेपाली सेनाको टोली घटना स्थलमा परिचालन भएको थियो । करिब २०० जनाको संख्यामा परिचालित फौजसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र स्थानीय खोज तथा उद्धारमा जुटेको थियो ।

विमान दुर्घटनामा सवार ७२ जनाकै मृत्यु भएको छ । त्यसमध्ये आइतबार साँझसम्म ६८ जनाको शव निकालिएको उद्दारमा खटिएका सुरक्षाकर्मीले जनाएका छन् ।

मृतकमध्ये १३ जनाको सनाखत भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका डीआईजी रामदत्त जोशीले जनाए । सनाखत हुनेमा पोखरा घर भएका निशान्त आचार्य, बागलुङ घर भएका निरा छन्त्याल, काठमाडौँकी संगीता शाहीलगायत छन् । आचार्य र छन्त्याल कलाकार रहेको खुलेको छ ।

प्रतिक्रिया