मगर समुदयले टुँडिखेलमा मनाए माघे सकराती
अखबार टुडे
प्रकाशित:
२०७९, १ माघ

काठमाडौं, १ माघ । आदिवासी मगर समुदायले आइतबार काठमाडौंको टुँडिखेलमा माघे सकराती मनाएका छन् ।

‘मगरात सभ्यताको संरक्षण–सम्वर्द्धन गर्दै पुस्तान्तरण गरौं, मगर समुदायको महान चाड माघे सकराती–२०७९ भव्यताका साथ मनाऔं’ भन्ने नाराका साथ मगर समुदायले माघे साकराती मनाएका हुन् । उनीहरुले मौलिक संस्कृतिलाई थप प्रवर्द्धन मगर भेषभूषामा सडकमा भृकुटीमण्डपबाट झाकी ¥याली निकालेका थिए ।

नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुन मगरले मौलिक संस्कृतिलाई थप प्रवर्द्धन गर्न माघे सकरातीलाई राष्ट्रिय सूचीमा चिनाउने गरी विश्वभर फैलाउन महोत्सवको आयोजना गरिएको बताए ।

यसपटक मगरहरुको मौलिक सांस्कृतिक प्रदर्शनी, मौलिक भेषभूषा, मौलिक खानपिनको प्रदर्शनी, धनुषबाँण हान्ने तथा एकआपसमा शुभकामना आदान–प्रदानसमेत गरिएको थियो ।

नेपालको प्रायः सबै जिल्लामा बसोबास रहेको प्राचीन आदिवासी मगर समुदायभित्र सांस्कृतिक, भाषिक र सामाजिक विविधता छन् । माघे साकरातीमा दाजुभाइ दिदिबहिनी सबैले बिहानको पहिलो प्रहरमा मूलपानी र धारालाई जमरा र पातीले सजाउने साथै नुहाई धुवाई गरेर चेलीहरुले मूलको पानी र जमरा स्वरुप जौंको पात लिएर घरको धूरी खाँबोमा पूजा गर्ने गरिन्छ ।

यस दिन छोरी चेलीहरुलाई गिठ्ठा, भ्याकुर, पिंडालु, तरुल, रोटी सहितको परिकार मिसिएको मिस्रा दिने गरिन्छ । घरमा आएका चेलीहरुलाई घरमै र आउन नसकेका छोरीचेलीलाई उनीहरुकै घर–घरमा पठाइदिने गरिन्छ । मिस्रा भन्नाले तरुल, गिठ्ठा, भ्याकुरको परिकारहरु, भुजौरी, खिचडी, घिउको परिकार हो ।

यस चाडमा मौलिक रुपले भैलो खेल्ने, पुतली नाँच्ने, सिस्नो खेल्ने, पीङ खेल्ने आदि गरिन्छ । सांस्कृतिक हिसाबले यस चाडदेखि कौडा नाचको सुरुवात गर्ने र मादल, बाजाहरु (चर्को आबाज निकाल्ने बाजागाजा) बन्द गर्ने गरिन्छ ।

प्रतिक्रिया