निगमले बुझायो कोषलाई किस्ता, नेपाल एयरलाइन्सले सातामा एक दिन इलाम उडान भर्ने
अखबार टुडे
प्रकाशित:
२०७९, १ माघ

काठमाडौं, १ माघ । नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्सले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा उडान सुरु गरेको छ । त्यसका लागि आइतबार पहिलो उडान भरेको छ । यसअघि २०७८ माघ २६ गते एयरलाइन्सले परीक्षण उडान गरेको थियो ।

यससँगै नेपाल एयरलाइन्स अबदेखि इलाम साताको एकदिन उडान भर्ने भएको छ । नेपाल एयरलाइन्सले इलाम उडान सुरु गरेपछि जिल्लावासी खुसी भएका छन् । उनीहरुले साताको दुई दिन नियमित उडान गर्नसमेत माग गरेका थिए । तर, तत्काललाई साताको एक दिनमात्र उडान भर्ने निगमले जनाएको छ ।

आइतबार क्याप्टेन पी शेर्पाले उडाएको उडानमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलगायत इलाम पुगेका थिए । उनीहरुलाई प्रमुख ज्ल्लिा अधिकारी, प्रहरी प्रमुख, नगर प्रमुख, उपप्रमुखलगायत स्थानीयले स्वागत गरेका थिए ।

बुझायो कोषलाई किस्ता

यस्तै, निगमले कर्मचारी सञ्चय कोषको ऋणको किस्ता तिरेको छ । निगमले २९ पुसमा कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ताबापतको ३३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ भुक्तानी गरेको हो ।

निगमले कर्मचारी सञ्चय कोषबाट न्यारोबडी जहाज खरिदका निम्ति लिएको ऋणको साँवा र ब्याजबापतको रकम भुक्तानी गरेको जनाएको छ ।

यसअघि निगमले असार ३० गते एक अर्ब ३५ करोड र असोज ३१ गते ७३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ भुक्तानी गरेको थियो ।

निगमले असोजमा बुझाएको किस्ता कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकामा कर्मचारी सञ्चय कोषको हकमा न्यारोबडी जहाज खरिदको साँवा र ब्याजबापतको ५३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ बुझाएको हो ।

नागरिक लगानी कोषको हकमा वाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ताबापतको २० करोड रुपियाँ गरी जम्मा ७३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ रहेको थियो ।

निगमले वाइडबडी जहाज किन्न नागरिक लगानी कोषबाट १२ अर्ब ऋण लिएको थियो । १५ वर्षभित्र तिरिसक्ने गरी लिइएको यो ऋणको एक वर्षमा ब्याजमात्रै एक अर्ब २६ करोड रुपियाँ तिर्नुपर्ने हुन्छ ।

त्यस्तै निगमले १५ वर्षकै लागि कर्मचारी सञ्चय कोषबाट पनि ११ अर्ब ९९ करोड रुपियाँ ऋण लिएको थियो । ऋण सहमतिअनुसार वाइडबडी र न्यारोबडीको ६०÷६० किस्ता तिर्नुपर्छ ।

जहाज खरिदका लागि ऋण लिँदा दुवै संस्थालाई वार्षिक चार÷चार किस्ता तिर्ने सहमतिअनुसार रकम लिएको निगमले असारभन्दा अघि २०६७ पुसमा किस्ता बुझाएको थियो ।

निगमलाई २०५४ सालदेखि ऋण लगानी गर्दै आएको नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषले सरकारको जमानीमा वाइडबडी र न्यारोबडी जहाज किन्न ऋण दिएको थियो ।

प्रतिक्रिया