सिँधुवा बजारमा आगलागी : ४९ लाख रुपैयाँ बराबरको धनमाल क्षति
अखबार टुडे
प्रकाशित:
२०७९, ३० पुष

धनकुटा, ३० पुस । धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिँधुवा बजारमा भीषण आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ ।

बेलुका ७ बजे लागेको आगोबाट बजारको काउली चौक नजिकका घरहरू पूर्णरूपमा जलेर नष्ट भएको स्थानीयवासी दीपक खड्काले जानकारी दिए ।

सो अगलागीमा रु ४९ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ ।
आगलागीको कारण भने खुल्न सकेको छैन । आगलागीबाट राईको घर पूर्णरुपमा क्षति भएको छ भने अन्य चार वटा पक्की घरको छतमा निर्मित टिनका संरचना नष्ट भएका छन् ।

आगलागीबाट राईको दुई तोला सुन र नगद रु दुई लाखसहित ३७ लाख र डिकबहादुर खड्का र होमबहादुर थापाको संयुक्त घरमा निर्मित रु पाँच लाख बराबरको छतको संरचना नष्ट भएको छ ।

त्यस्तै झमक थापाको दुई तोला सुन र रु ७० हजार नगदसहित रु पाँच लाख, अर्जुन घिमिरेको रु एक लाख र डम्बर थापाको रु ५० हजार बराबरको धनमाल क्षति भएको प्रहरीले जानकारी दिएको छ । आगलागी पीडितलाई राहतका लागि गाउँपालिकाको विपद् व्यवस्थापन टोली उक्त स्थानमा पुगेर राहत दिने तयारी भइरहेको पालिका अध्यक्ष छत्र सुब्बाले जानकारी दिए ।

पीडितलाई जनही नगद रु १५ हजारसहित बन्दोबस्तीका सामग्री दिइने अध्यक्ष सुब्बाले जानकारी दिए । उक्त आगो छिमेकी जिल्लाको लालिगुराँस नगरपालिका वसन्तपुर बजारबाट आएको दमकल र गाउँपालिकाको जेसिभी डोजरको सहयोगमा करिब एक घण्टापछि नियन्त्रण गरिएको थियो ।

प्रतिक्रिया