भारतीय कफ सिरप प्रयोग नगर्न डब्लूएचओको चेतावनी : कम्पनी भन्छ- मृत्यु अरु कारणले हुनसक्छ
अखबार टुडे
प्रकाशित:
२०७९, २९ पुष

काठमाडौं, २९ पुस । भारतीय कम्पनीद्वारा निर्मित ४ ‘कफ सिरप’ प्रयोग नगर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चेतावनी दिएको छ ।

भारतीय कम्पनी मरियन बायोटकद्वारा रुघा खोकीका लागि निर्मित दुई कफ सिरपमा ‘एम्ब्रोनोल’ र ‘डक–१ म्याक्स’मा विषाक्त पदार्थ भएको भन्दै प्रयोग नगर्न आग्रह गरेको हो ।

उज्वेकिस्तानमा १८ बालबालिकाको मृत्युको घटनामा कफ सिरप जोडिएको भन्दै कफ सिरप प्रयोग नगर्न डब्लूएचओले भनेको छ । उज्वेकिस्तानको स्वास्थ्य मन्त्रालयको गुणस्तर नियन्त्रण प्रयोगशालाले यी दुई कफ सिरपमा अस्वीकार्य मात्रामा ‘डाइथिलिन ग्लाइकोल र ‘इथिलीन ग्लाइकोल’ फेला पारेको बताएको छ । यी पदार्थ मानिसका लागि विषाक्त हुन्छन् र यदि सेवन गरेमा घातक हुन सक्छ ।

उज्वेकिस्तानमा सिरपको कारण मृत्यु भएपछि उक्त कम्पनीलाई खाद्य सुरक्षा विभागले उत्पादन लाइसेन्स खारेज गरिसकेको छ । यी सिरपहरू बालबालिकाहरूलाई चिकित्सकको प्रेस्क्रिप्सनबिना र फर्मासिस्टको सल्लाहमा चाहिनेभन्दा बढी डोज दिइएको बताइएको छ ।

यसअघि भारतमै निर्मित ४ कफ सिरपका कारण गाम्बियामा ७० बालबालिकाको मृत्यु भइसकेको छ । डब्लूएचओले यी दुवै उत्पादनहरू अन्य देशमा पनि मार्केटिङ स्वीकृति पाएको हुन सक्ने बताउँदै अनौपचारिक बजारहरूमार्फत, अन्य देश वा क्षेत्रहरूमा वितरण गरिएको हुन सक्ने बताएको छ ।

तर, कम्पनीले भने कफ सिरपकै कारण मृत्यु भएको भनी लगाइएको आरोप अस्वीकार गरेको छ । कम्पनीले भनेको छ, ‘डक–१ म्याक्स कफ सिरपको प्रत्येक १०० एमएलका२० हजार बोतलहरू उज्वेकिस्तानको सम्पूर्ण भूगोलमा आपूर्ति गरिएको थियो । तर मृत्यु एउटा भौगोलिक क्षेत्रमा मात्र रिपोर्ट भएको छ ।’ उसले मृत्यु अरु कारणले हुन सक्ने भन्दै सिरपमा दोष लगाउन नहुने जनाएको छ ।

प्रतिक्रिया