
काठमाडौं, २९ पुस । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले छिट्टै क्रिकेट मैदान फर्कने बताएका छन् । नाबालिगमाथि बलात्कारको आरोप लागेपछि ९९ दिनपछि शुक्रबार जेलमुक्त भएपछि उनले यस्तो बताएका हुन् ।
बलात्कारको आरोपलागेपछि नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो । बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका थिए ।
शुक्रबार २० लाख धरौटी तिरेर उनी थुनामुक्त भएका छन् । तर, उनको मुद्दाको किनारा भने लागिसकेको छैन ।
शुक्रबार जेलमुक्त भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै सन्दीपले भने, ‘छिट्टै क्रिकेट मैदान फर्किन्छु । एकदमै राम्रोसँग फर्कन्छु ।’
यस्तै, सन्दीपमाथि लगाइएको निलम्बन फुकुवा गरेर राष्ट्रिय टिममा फर्काउन मिल्ने वा नमिल्ने विषयमा क्यानले कानुन व्यवसायी परामर्श थालेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार यो विषयमा क्यानले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सँग समेत सुझाव माग्ने भएको छ ।
थुनामुक्त भएपछि सन्दीपले सुरुमा केही समय परिवारसँग समय बिताउने बताएका छन् । ‘म केही समय परिवारसँग बस्नेछु’ उनले भने, ‘त्यसपछि क्रिकेटमै फर्कने छु ।’
उनीमाथि नाबालिग बलात्कार गरेको आरोप लागेको थियो । सन्दीपलाई अदालतले ५ वटा शर्तमा मात्रै थुनामुक्त गर्न आदेश दिएको हो । उक्त आदेशको पालना नगरी उल्लंघन गरेको पाइएमा उनी पुनः थुनामा पठाइने आदेशमा भनिएको छ ।
साथै, सन्दीपलाई अदालतले विदेश जानसमेत रोक लगाएको छ । काठमाडौं उपत्यका छाड्दा समेत जिल्ला प्रहरी परिसर काठमाडौंको अनुमति लिनुपर्ने छ किननि सन्दीपमाथि निगरानी राख्न अदालतले भनेको छ ।
