ओलीवादका कारण कम्युनिस्ट आन्दोलन अप्ठेरोमा पर्‍यो : घनश्याम भुसाल
अखबार टुडे
प्रकाशित:
२०७९, २९ पुष

काठमाडौं, २९ पुस । नेता घनश्याम भुसालले ओलीवादका कारण कम्युनिस्ट आन्दोलन अप्ठेरोमा परेको टिप्पणी गरेका छन् ।

शुक्रबार माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गर्दै भुसालले ओलीवादका कारण नेकपा एमालेमा रहन नसकेको बताए ।

काठमाडौंको एक होटलमा पत्रकार सम्मेलन गर्दै भुसालले भने, ‘ओली सिद्धान्त, ओलीवाद र ओली संगठनका कारण कम्युनिस्ट आन्दोलन अप्ठेरोमा परेको छ । यस तर्कमा म बहस गर्न जहिल्यै तयार छु । यस्तो अवस्थामा म नेकपा एमालेमा रहन सकिनँ ।’

भुसालले नेकपा विभाजनका कारण मुलुकले समृद्धि र विकास गर्ने अवसर गुमाउनु परेको बताए । उनले एमालेले जनताको बहुदलीय जनवादको हुर्मत लिएको आरोप समेत लगाए ।

‘सौराहा काण्डका नेताहरू जनताको बहुदलीय जनवादी भएपछि त्यहाँ फस्यो । व्यवहारिक रूपमा भन्ने हो भने एकातिर हलो र अर्कोतिर घण्टी राखेर बालकोटबाट शासन चलाउने व्यवहार भइरहेको छ’, भुसालले भने ।

उनले अहिले पनि एमालेले संसद्मा राम्रो भोट पायो भने फेरि संसद् विघटन गर्छ भनेर संसदमै देखिएको भन्दै माओवादी पनि हिजोकै अवस्थामा फर्किएको आरोप लगाए ।

भुसालले नेकपा एकीकृत समाजवादी सैद्धान्तिक वैचारिक रूपमा तत्कालीन नेकपाको खास उत्तराधिकारी रहेकाले आफूले यो पार्टी रोज्नुपरेको बताए । भुसाल गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए । उनी एमालेका सचिव समेत रहेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए ।

भुसालले नेकपा एकीकृत समाजवादीले वाम एकताका लागि गठन गरेको वार्ता समितिसमक्ष ५ बुँदे प्रस्ताव राखेका थिए । भुसालको प्रस्तावलाई एकीकृत समाजवादीले स्वागत गरेपछि उनी पार्टी प्रवेश गरेका हुन् ।

प्रतिक्रिया