
काठमाडौं, २८ पुस । नावागि बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई बिहीवार पाटन उच्च अदालतले तारेखमा रिहा गर्ने अन्तरिम आदेश दिएको छ ।
अदालतका रजिष्टार ठगिन्द्र कट्टेलका अनुसार सन्दीपलाई २० लाख धरौटीमा रिहाको आदेश दिइएको हो । तर, लामिछानेका निम्ति केही सर्तहरूसमेत तोकिदिएको छ ।
गत १८ कात्तिकमा उनलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनी हिरासतमा थिए ।
लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम १० देखि १२ वर्षको कैद सजाय हुनुपर्ने माग गरिएको काठमाडौं जिल्ला अदालतले जनाएको छ ।
सरकारी वकिलको कार्यालयले पीडितलाई क्षतिपूर्तिस्वरूप पाँच लाख रुपैयाँ दिनुपर्ने माग दाबी पनि गरेको छ ।
जिल्ला अदालत काठमाडौंले उनलाई थुनामै राखेर बलात्कार सम्बन्धी मुद्दामा कारबाही अघि बढाउने भन्दै गरेको आदेशविरूद्ध सन्दिपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।
निवेदनमाथि बिहीबार भएको न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमा छाड्न जिल्ला अदालतले आदेश दिएको हो । लामिछानेले चाहिँ आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै आएका छन् ।
