शुक्रबार एकीकृत समाजवादीमा प्रवेश गरेको स्वघोषणा गर्दै घनश्याम भुसाल
अखबार टुडे
प्रकाशित:
२०७९, २८ पुष

काठमाडौं, २८ पुस । नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् । त्यसका लागि नेकपा एकीकृत समाजवादीले शुक्रबार पार्टी प्रवेश कार्यक्रम राखेको छ ।

एकीकृत समाजवादीका अनुसार भुसाललाई स्वागत गर्न शंखमुलस्थित होटल अर्यालयमा शुक्रबार दिउँसो २ कार्यक्रम राखिएको छ । कार्यक्रममा नेता भुसालले एकीकृत समाजवादीमा प्रवेश गरेको स्वघोषणा गर्नेछन् ।

गत मंसिरमा सम्पन्न निर्वाचनमा नेकपा एमालेले टिकट नदिएपछि भुसालले रुपन्देहीमा स्वतन्त्रबाट संघीय निर्वाचन लडेका थिए । तर, उनी पराजित भएका थिए ।

केहीदिनअघि मात्र उनले एकीकृत समाजवादीलाई पाँच बुँदे पत्र पठाउँदै पार्टी प्रवेशको ढोका खुलाएका थिए । लगत्तै एकीकृत समाजवादीले जवाफ पठाएसँगै उनी पार्टी प्रवेश गर्न राजी भएका हुन् । नेता भुसाल एमाले त्यागेको दुई महिना पूरा नहुँदै एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका हुन् ।

नेता भुसाललाई तत्काल एकीकृत समाजवादीले सचिवालय सदस्यमा मनोनित गर्ने भएको छ भने केही समयपछि महासचिव बन्ने समझदारी बनेको एकीकृत समाजवादीका नेताहरुले बताएका छन् ।

भुसालले पनि पार्टीमा महासचिवको भूमिकामा रहेर वृहत वाम एकता हुँदै साविक नेकपाको अवस्थामा कम्युनिस्ट पार्टीहरुलाई फर्काउन पहल गर्ने बताएका छन् ।

प्रतिक्रिया