लुम्बिनी अल स्टार्सले जित्यो नेपाल टी-२० लिगको उपाधि
अखबार टुडे
प्रकाशित:
२०७९, २७ पुष

काठमाडौं, २७ पुस । नेपाल टी–२० क्रिकेट लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ । आज (बुधवार) भएको फाइनल खेलमा विराटनगर सुपर किङ्ग्सलाई २४ रनले हराउँदै लुम्बिनीले उपाधि जितेको हो ।

लुम्बिनीले दिएको एक सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १ सय ९ रनमात्रै बनाउन सक्यो । विराटनगरका लागि अर्जुन साउदले ३४ र पृथु बाँस्कोटाले ३१ रन बनाए । लुम्बिनीका हरमीत सिंह र सागर ढकालले दुई/दुई विकेट लिए

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीका लागि लाहिरु मिलन्थाले ४१ र हरमीत सिंहले ३० रन बनाए । विराटनगरका नन्दन यादव र राज नन्नानले दुई÷दुई विकेट लिए ।

उपाधिसँगै लुम्बिनीले ५५ लाख रूपैयाँ पुरस्कार पाएको छ । उपविजेता विराटनगरले ३० लाख रूपैयाँ पुरस्कार पाएको छ । तेस्रो भएको जनकपुर रोयल्सले १० लाख र चौथो भएको काठमाडौं नाइट्सले ५ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वोत्कृष्ट खेलाडीले ५ लाख र उत्कृष्ट ब्याटर र बलरले जनही २ लाख ५० हजार पाउनेछन् ।

पहिलो संस्करणको नेपाल टी–२० क्रिकेट लिगमा लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्ग्स, जनकपुर रोयल्स, काठमाण्डौ नाइट्स, पोखरा एभेन्जर्स र फार वेस्ट युनाइटेड गरी छ टोलीको सहभागिता थियो ।

प्रतिक्रिया