बलिउड अभिनेत्री मलाइका अरोरा नेपाली पोशाक र गहनामा र्‍याम्पमा उत्रँदै
अखबार टुडे
प्रकाशित:
२०७९, २७ पुष

काठमाडौं, २७ पुस । नेपाल रत्न तथा आभुषण संघले होटल याक एण्ड यति दरबारमार्ग काठमाडौमा चौथो जेम एण्ड ज्वेलरी एक्स्पो गर्ने भएको छ । पुस २९ देखि १ माघसम्म हुने एक्स्पोको अघिल्लो दिन अर्थात मंसिर २८ गते विहीबार ज्वेलरी फेशन शो आयोजना गरिने संघले जानकारी दिएको छ ।

मंगलवार आयोजित पत्रकार सम्मेलनमा संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले टकिङ्ग नेप्लीज ज्वेलरी ग्लोबली भन्ने मुख्य लक्ष्यका साथ कार्यक्रमको आयोजना गर्न लागेको र नेपालको गरगहना विदेशमा निर्यात गरी नेपाली अर्थतन्त्रमा सघाउ पु¥याउन एक्सपोको आयोजना गर्न लागेको जानकारी दिइन् ।

ज्वेलरी फेशन शोमा बलिउडकी चर्चित अभिनेत्री तथा मोडल मलाइका अरोराले नेपाली पोशाक र गरगहनाका साथ र्‍याम्पमा उत्रिने संघले जनाएको छ । होटल याक एन्ड यतिमा विहिवार साँझ ६ बजे बलिउड अभिनेत्री अरोराले मोडलिङ्ग गर्न लागेका हुन् ।

निःशुल्क रुपमा प्रवेश पाइने जेम एण्ड ज्वेलरी एक्स्पोको उद्घाटन भने शुक्रवार होटल याक एन्ड यतिमा १२ः ३० मा हुने तय भएको छ । एक्स्पो बिहान १० देखि साँझ ७ बजेसम्म चालु रहने छ ।

आयोजक समितिका द्धितीय उपाध्यक्ष तथा एक्स्पो संयोजनक शक्ति कुमार बेगानले भने, ‘ज्वेलरी फेशन शो’ मा विख्यात भारतीय सिने अभिनेत्री एवं सञ्चारकर्मी मलाइका अरोरा नेपाली पोशाक र आभुषणमा र्‍याम्पमा प्रस्तुत हुँदा आर. वी. डाइमण्ड ज्वेलर्स प्रा.लि., गणपति ज्वेलर्स नेपाल प्रा.लि., सयपत्री (मेरिगोल्ड) ज्वेलर्स, क्वीन्स ज्वेल्स् प्रा.लि., धनश्री ज्वेलर्स, डि.सी. डाइमण्ड प्रा. लि. आदि विभिन्न प्रमुख ज्वेलर्स कम्पनीहरुले फेशन शो गर्नेछन् ।’

पत्रकार सम्मेलनमा संघका निवर्तमान अध्यक्ष मनिषलाल प्रधानले चालु पुँजी कर्जा संशोधनले तात्विक असर नगरेको र कर्जा व्याजदर एकलविन्दुमा झारेमा मात्र गरगहनाको लागतमा कम पर्न गइ मुल्य घट्न जाने बताए ।

१५ लाख जना यो व्यवसायसँग अप्रत्यक्ष रुपमा आश्रित रहेको र २५ हजारवटा आउटलेट रहेको यो व्यवसायले वार्षिक १० अर्बको राजस्व बुझाउँदा पनि अनुत्पादक क्षेत्र भनेकोमा उनले गुनासो गरे ।

स्वदेशी वहुमूल्य धातु तथा रत्न, पत्थरको उत्खनन, प्रशोधन र उपयोग गरी आयातलाई यथाशक्य प्रतिस्थापन गर्ने, आयातित वस्तुलाई औद्योगिक कच्चा पदार्थको रुपमा मुलुक भरका आभुुषण व्यवसायीले सहजरुपमा उपयोग गर्न सक्ने अवस्थाको सिर्जना गरी राष्ट्रिय अर्थतन्त्रमा बढीभन्दा अभिवृद्धि गर्ने र नेपाली मौलिक वहुमूल्य आभुषणको निकासीलाई प्रवद्र्धन तथा वैदेशिक व्यापारमा थप विस्तार गर्ने लक्ष्यका साथ आफ्ना गतिविधिलाई संघले केन्द्रित गरिरहेको संघका निवर्तमान अध्यक्ष प्रधानले बताए ।

प्रतिक्रिया