लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा को को बन्दैछन् मुख्यमन्त्री ?
अखबार टुडे
प्रकाशित:
२०७९, २७ पुष

काठमाडौं, २७ पुस । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज मुख्यमन्त्री चयन हुँदैछन् । प्रदेश प्रमुखले सरकार गठन गर्न दिएको म्याद आज सकिने भएकाले यी तीनवटै प्रदेशमा मुख्यमन्त्री चयन हुने भएको हो ।

संघमा शीर्ष नेताबीच भएको सहमतिअनुसार दलहरूले मुख्यमन्त्री दाबी गर्र्दैछन् । कर्णाली र लुम्बिनीमा केही असन्तुष्टि भएपनि मुख्यमन्त्री सहमतिमै चयन हुने नेताहरूको भनाइ छ ।

संघको सहमतिअनुसार लुम्बिनीमा एमालेले सरकार बनाउँदै छ । एमालेबाट संसदीय दलका नेता लिला गिरिले पाँच वर्षका लागि मुख्यमन्त्रीका लागि दाबी पेस गर्नेछन् ।

यस्तै, लुम्बिनीमा पनि आज ४ बजेसम्म मुख्यमन्त्री दाबी पेस गर्न समय छ । यहाँ ८७ जना प्रदेश सांसद छन् । जसमा सरकार गठनका लागि ४४ जनाको आवश्यक पर्छ ।

सत्तारुढ दल एमालेका २९, माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्तिको ४–४, जसपाका ३, जनमत पार्टीका ३ जना गरी ५३ सांसद छन् ।

सत्ता साझेदार दलसँग ५२ प्रदेशसभा सदस्य रहेका छन् । स्वतन्त्रबाट जितेका एक–जना भने माओवादी केन्द्रमै फर्किएका छन् । माओवादीको भागमा परेको कर्णालीमा पनि आजै मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने अन्तिम समय रहेको छ ।

कर्णालीमा आज बेलुकी ५ बजेसम्म माओवादीका संसदीय दलका नेता राजकुमार शर्माले मुख्यमन्त्रीका लागि दाबी पेस गर्नेछन् । ४० सदस्य रहेको कर्णाली प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १४ जना, माओवादी केन्द्रका १३ जना, नेकपा एमालेका १०, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद एक÷एक जना छन् ।

कर्णालीमा एमालेले मुख्मन्त्री आलोपालो हुनुपर्ने माग गरेको छ । एमाले संसदीय दलका नेता यामलाल कँडेल पक्षका सांसदहरू असन्तुष्ट छन् ।

यस्तै, एमाले–माओवादीले आलोपालो सरकार बनाउने सहमति भएको सुदूरपश्चिम प्रदेशले पनि आजै मुख्यमन्त्री पाउनेछ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ जनाको समर्थन चाहिन्छ । यहाँ ठूलो दल नेपाली कंग्रेसको १९, नेकपा माओवादी केन्द्रको ११, नेकपा एमालेको १०, नागरिक उन्मुक्ति पार्टीको ७, नेकपा एकीकृत समाजवादीको ४, राप्रपाको १ र एक जना स्वतन्त्र सांसद छन् ।

सहमति अनुसार पहिलो कार्यकाल एमालेले नेतृत्व गर्नेछ । एमालेबाट आज संसदीय दलका नेता राजेन्द्र रावलले गठबन्धनबाट मुख्यमन्त्रीको दाबी पेस गर्दैछन् ।

अर्को कार्यकाल भने यो प्रदेशमा माओवादीले नेतृत्व गर्ने सहमति भएको छ । जसअनुसार अर्को कार्यकाल माओवादीबाट खगराज भट्ट मुख्यमन्त्री बन्ने छन् ।

प्रतिक्रिया