प्रधानमन्त्री प्रचण्डलाई संसदमा प्रचण्ड मत, क-कसले दिएन विश्वासको मत ?
अखबार टुडे
प्रकाशित:
२०७९, २६ पुष

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै भनेका थिए, ‘संसद सिँगै सरकारको पक्षमा रहने छ ।’ यसको मतलव कांग्रेसले पनि विश्वासको मत दिनेछन् भन्ने थियो । अन्ततः प्रचण्डले मंगलबार बसेको संसद बैठकबाट प्रचण्ड बह्ुमतसहित विश्वासको मत पाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेको सम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधिसभाका २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरे । कुल २७० जनाले मतदान गरेकोमा प्रधानमन्त्री प्रचण्डको पक्षमा २६८ मत परेको थियो । प्रधानमन्त्रीले पाएको मत नेपाली राजनीतिक इतिहासमै पहिलो हो । यससँगै अहिलेको वर्तमान सरकारमा प्रतिपक्षमा केही सांसदमा मात्र रहेका छन् ।

नेपाली कांग्रेसबाट निर्वाचित टेकबहादुर गुरुङ्ग निलम्बित छन् भने कांग्रेसका अरु ३ जना सांसद बैठकमा अनुपस्थित भए ।
बैठकको अध्यक्षता गरेका पशुपति शमशेर राणाले मतदानमा भाग लिएनन् ।

प्रधानमन्त्रीलाई उनको दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मत दिएका छन् ।

प्रधानमन्त्रीलाई नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले भने विश्वासको मत दिएनन् ।

प्रतिक्रिया