विश्वासको मत पाउनेमा ढुक्क छन् प्रधानमन्त्री प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०७९, २६ पुष

काठमाडौं, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसदमा विश्वासको मत लिने भएका छन् । एमालेसहित ७ दलको समर्थनमा गत पुस १० गते नेकपा माओवादी केन्द्रका संसदीय दल नेतासमेत रहेका प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्थाअनुसार आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त हुने व्यवस्थाअनुसार प्रचण्ड प्रधानमन्त्री बनेका हुन् ।

नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री बनाउन प्रचण्डलाई समर्थन गरेका थिए । उनलाई केही स्वतन्त्र सांसद गरी १६९ सांसदको प्रचण्डलाई समर्थन थियो । आज विश्वासको मत लिँदा यो संख्यामा बढ्ने गरी सत्ता साझेदार दलहरूले पहल गरिरहेका छन् ।

प्रचण्डले नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई समेत भेटेर विश्वासको मत मागेका छन् । एकीकृत समाजवादीले पनि आज सचिवालय बैठक गरेर विश्वासको मत दिने वा नदिने निर्णय गर्ने भएको भने कांग्रेसले केही निर्णय गरेको छैन । तर, कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने यो सरकारलाई विश्वासको मत नदिने र कांग्रेस प्रतिपक्षमै बस्ने बताउँदै आएका छन् ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउन १३८ जना सांसद भए पुग्छ । २७५ सदस्यीय प्रतिनिधि सभामा १३८ सांसद बहुमत हो । प्रधानमन्त्री प्रचण्डले पनि आफूले विश्वासको मत पाउने बताइरहेका छन् । उनले सोमबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै सिंगो प्रतिनिधिसभा नै सरकारको पक्षमा रहने बताएका थिए ।

प्रतिक्रिया