संसदमा अध्यक्ष रञ्जिता श्रेष्ठको पहिलो सम्बोधन- निर्दोष थारुहरुलाई किन जेलमै राखिरहने ?
अखबार टुडे
प्रकाशित:
२०७९, २५ पुष

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले रेशम चौधरी निर्दोष रहेको भन्दै रिहा हुनुपर्ने बताएकी छन् । सोमबार संघीय संसदमा प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले आफ्ना पति एवं नेता चौधरीले न्याय पाउने आशामा रहेको पनि बताइन् ।

‘आखिर निर्दोष नागरिकलाई किन जेलमै राखिरहने ? निर्दोष थारुहरुलाई किन जेलमै राखिरहने ?’ पहिलो पटक सांसद बनेर संसद छिरेकी उनले भनिन्, ‘आज यही संसद्बाट नै न्याय माग्छु र, न्याय दिने आशा पनि रहेको छ ।’

अध्यक्ष श्रेष्ठले जिम्मेवार नेताहरुले रेशम चौधरीलाई निर्दोष भन्ने गरेको स्मरण गराएका थिए । नेपाली कांग्रेसका सापति शेरबहादुर देउवाले रोस्ट्रमबाट, केपी ओलीले कैलालीबाट, पुष्पकमल दाहाल प्रचण्डले टुँडिखेल लगायतका स्थानबाट, गगन थापाले धनगढीको विशाल सभाबाट र रवि लामिछानेले पनि निर्दोष भनेको स्मरण गराउँदै उनले भनिन्, ‘झुटा मुद्दा फिर्ता लिने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने र रेमश चौधरीको रिहाइका लागि यो संसदबाट हाम्रो पहल भइरहने छ ।’

यसैबीच अध्यक्ष श्रेष्ठले प्रतिनिधिसभासमक्ष पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठन भएको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सर्वोच्च अदालतले दिएको आदेशको प्रतिलिपी बुझाएकी छन् ।

000

बैठक सम्बोधन गर्दै उनले सभाध्यक्ष पशुपतिशमशेर राणासमक्ष लालको संयोजकत्वमा गठन भएको आयोग सार्वजनिक गर्न सर्वोच्च अदालतले दिएको आदेशको प्रतिलिपी बुझाएकी हुन् ।

२०७२ सालमा संविधान जारी गर्नुअघि तराई-थरुहट क्षेत्रमा भएका आन्दोलनका क्रममा भएको जनधनको क्षति छानविन गर्न २०७३ साउन २१ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्व मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश लालको संयोजकत्वमा आयोग गठन गरेको थियो ।

आयोगले २०७४ मंसिर २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ७ सय ९ पृष्ठ लामो प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन थप अध्ययनका लागि भन्दै २०७४ पुस १३ गते प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालयमा पठाएको थियो ।

तराई–मधेस र थरुहटको आन्दोलनकै मुद्दामा अध्यक्ष श्रेष्ठका पति रेशम चौधरी डिल्लीबजार कारागारमा छन् । उनी नागरिक उन्मुक्ति पार्टीका संरक्षक हुन् । टीकापुरमा ‘थरुहट आन्दोलन’ का क्रममा २०७२ भदौ ७ मा १ बालक र ८ प्रहरीको ज्यान जाने गरी भएको घटनाका मुख्य योजनाकार भनिएका रेशमलाई जिल्ला अदालत कैलालीले २०७५ फागुन २२ गते जन्मकैदको फैसला सुनाएको थियो ।

जिल्ला अदालतको फैसला त्रुटिपूर्ण रहेको र आफू निर्दोष रहेको दाबी गर्दै उनले २०७६ वैशाख २९ मा उच्च अदालत दिपायलमा पुनरावेदन निवेदन पेश गरेका थिए । तर, उच्च अदालत दिपायलले २०७७ पुस २ गते जिल्ला अदालतको फैसला सदर गर्दै जन्मकैदको फैसला सुनाएको थियो ।

रेशमलाई थुनामा रहेकै समयमा २०७५ पुस १९ गते सांसदको शपथ ग्रहण गराइएको थियो । उनी तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)का तर्फबाट कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।

कारागारबाटै रेशमले खोलेको नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभामा ३ र सुदूरपश्चिम प्रदेशसभामा ७ सिट जितेको छ । तर, रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा नजाने पार्टीले बटमलाइन बनाएको छ ।

प्रतिक्रिया