
काठमाडौं, २५ पुस । माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेलले बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम जमकट्टेललाई मुख्यामन्त्रीमा नियुक्त गरेका हुन् ।
जमकट्टेलले ७० प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । मुख्यमन्त्री जम्मकट्टेललाई एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसदको समर्थन छ ।
११० सदस्यीय रहेको बागमती प्रदेशमा सरकार गठन गर्न सामान्य बहुमतका लागि कम्तीमा ५६ जना सांसद आवश्यक हुन्छ ।
सत्ता साझेदार दलबीच आइतबार भएको सहमतिअनुसार ७ प्रदेशमध्ये एमालेले प्रदेश १, गण्डकी र लुम्बिनी पुरै कार्यकाल र माओवादीले कर्णाली, आलोपालोअन्तर्गत बागमतीमा (पहिला माओवादी) सुदूरपश्चिममा (दोस्रो कार्यकाल) सरकारको नेतृत्व गर्ने भएका छन् ।
एमालेले नेतृत्व गरेका प्रदेशमा माओवादीबाट सभामुख र माओवादीले सरकारको नेतृत्व गरेका प्रदेशमा एमालेका सभामुख हुने भएका छन् ।
