मलेसियामा बन्धक बनाइएका १३ नेपालीको उद्दार, भोलि ६ जना नेपाल फर्कँदै
अखबार टुडे
प्रकाशित:
२०७९, २५ पुष

काठमाडौं, २५ पुस । मलेसियामा एजेन्टले बन्धक बनाएका १३ जना नेपाली श्रमिकको उद्धार गरिएको छ । उद्धार भएकामध्ये ६ जना मंगलबार स्वदेश फर्किने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आज मात्र प्रधानमन्त्री प्रचण्डले बन्धक बनाइएका र अन्य समस्यामा परेका नेपालीको अवस्था बुझेर तत्काल रिहाई तथा उद्दारको पहल गर्न मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिएका थिए ।

सोही निर्देशनका आधारमा सरकारले परराष्ट्र मन्त्रालयमार्फत मलेसियास्थित नेपाली राजदूतावाससँग सम्पर्क गरी बन्धक बनाइएका नेपालीको अवस्था बुझेर तत्काल उद्दारका लागि पहलपछि मलेसियाको पीआएस फरेस्ट म्यानेज्मेन्ट कम्पनीमा कार्यरत १३ जना नेपाली नागरिक स्वदेश फर्किने भएका हुन ।

मलेसियास्थित नेपाली राजदूतावासले प्रधानमन्त्री कार्यालयलाई दिएको जानकारीअनुसार हाल उक्त कम्पनीमा काम गर्न गएका १३ जना सबै श्रमिकलाई म्यानपावर कम्पनीले खर्च व्यहोर्ने गरी एक नेपाली होटलमा खाने र बस्ने व्यवस्था गरिएको छ ।

दूतावासको पहलमा उनीहरुमध्ये ६ जना मंगलबार अन्य शुक्रबार नेपाल फर्कने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया