शंकरापुरमा स्थानीयलाई पेस्तोल ताक्ने इन्पेक्टरमाथि छानबिन सुरू
अखबार टुडे
प्रकाशित:
२०७९, २४ पुष

काठमाडौं, २४ पुस । काठमाडौंको शंकरापुरमा स्थानीयलाई पेस्तोल ताक्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर) विशालबहादुर बुढाथोकीमाथि छानबिन सुरू भएको छ ।

प्रहरी वृत्त बौद्धमा कार्यरत इन्स्पेक्टर बुढाथोकीमाथि छानबिन सुरू गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

गत बुधबार पुस २० गते शंकरापुर नगरपालिका–३ लप्सीफेदी बोझेनीमा नेपाल विद्युत प्राधिकरणले त्यहाँ सबस्टेशन निर्माण गर्न लागेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका थिए ।

त्यसक्रममा बौद्धबाट थप मद्दतको लागि इन्सपेक्टर बुढाथोकीको कमान्डमा टोली खटिएको थियो । सो टोलीका प्रहरी निरीक्षकले प्रदर्शनमा सहभागी स्थानीयलाई ‘गोली हान्दिउँ’ भन्दै पेस्तोल ताकेका थिए ।

प्रहरी निरीक्षक बुढाथोकीले गैर व्यवसायिक अभ्यास गरेकाले छानबिनका लागि समिति बनाइएको एसपी मैनालीले जानकारी दिए ।

प्रतिक्रिया