नेपाल टी-२० लिगमा तीन नेपाली र चार विदेशी खेलाडीले फिक्सिङ गरेको सीआईबीको निष्कर्ष
अखबार टुडे
प्रकाशित:
२०७९, २४ पुष

काठमाडौं, २४ पुस । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

सीआईबीले तीन जना नेपाली र ४ जना विदेशी खेलाडीले स्पट फिक्सिङ गरेको प्रारम्भिक अनुसन्धानबाट निष्कर्ष निकालेको हो ।

सीआईबीले शंकामा रहेका खेलाडीहरुसँग बयान लिइसकेको बताइएको छ । एउटा खेलाडीले एउटा खेलमा स्पट फिक्सिङ गरेबापत १० लाखभन्दा कम लिनेगरेको अनुसन्धानमा पाइएको छ ।

प्रतियोगिताका सुरुका केहि खेलहरुमा फिक्सिङ भएको पाइए पनि धेरै हल्ला हुन थालेपछि पछिल्ला खेलहरुमा फिक्सिङ नभएको बताईको छ ।

बेटिङ र फिक्सिङमा नेपाल टी–२० लिगको व्यापारिक तथा रणनीतिक साझेदारीसहित सन्चालन अधिकार पाएको विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको संग्लग्नता भएको संकेत मिलेको सीआईबीले जनाइएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ९ पुसदेखि सुरु भएको प्रतियोगितामा अस्वभाविक नतिजा र केहि खेलाडीको अस्वभाविक प्रदर्शनबाट नै फिक्सिङको चर्चा भएको थियो ।

गृहमन्त्री रवि लामिछानेले गत मंगलबार नेपाल टी–२० लिगमा भइरहेको भनिएको बेटिङ, सम्भावित फिक्सिङ र श्रम स्वीकृति विना विदेशी खेलाडी खेलाएकोबारे अनुसन्धान गर्न सीआईबीलाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया