
काठमाडौं, २४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका निम्ति सरकारको प्रभावकारी भूमिकाका साथै रााष्ट्रिय संस्कृति र जागरण जरुरी रहेको बताएका छन् ।
आइतबार बिहान सिंहदरबारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँगको छलफलमा प्रधानमन्त्रीले आफ्नो तेस्रो कार्यकाल सामाजिक न्याय, सुशासन र समृद्धिमा नै केन्द्रित हुने बताए ।
प्रधानमन्त्रीले भने, ‘सामाजिक न्याय, सुशासन र समृद्धि नै सरकारको प्रमुख प्राथमिकतामा छ । नेपाल सरकारका सचिवहरूसँगको छलफलमा पनि मैले त्यही कुरा प्राथमिकताका साथ राखेको छु । जनताले हामीप्रति आशाको नजरले हेरिरहेका छन् । अब केही हुन्छ, नयाँ हुन्छ, सुशासन र समृद्धि हासिल हुन्छ भन्ने आत्मविश्वास र प्रतिवद्धतासहित हामीले काम गर्नुछ ।’
उनले भ्रष्टाचार निवारण एउटा मात्र निकायले गर्न नसक्ने भन्दै यो समग्र सामाजिक चेतना र संस्कृतिको प्रश्न भएकाले आम जनताको चेतना र पहलसँग पनि यसको सम्बन्ध रहने बताए । उनले भ्रष्टाचार निवारणमा राज्यको जिम्मेवारी प्रमुख रहेको र त्यसप्रति आफू पूरै गम्भीर जिम्मेवार रहेको बताए ।
सत्ता साझेदार दलको न्यूनतम साझा कार्यक्रममा पनि सुशासनलाई उच्च प्राथमिकता दिइएका प्रधानमन्त्री दाहालले बताए ।
