चीनद्वारा अन्तर्राष्ट्रिय हवाई ट्रान्जिट खुला, नेपालीलाई सस्तो र सहज हुने
अखबार टुडे
प्रकाशित:
२०७९, २४ पुष

काठमाडौं, २४ पुस । चीनले ३२ महिनापछि अन्तर्राष्ट्रिय यात्रुका लागि हवाई ‘ट्रान्जिट’ खुला गरेको छ ।

चीनले कोरोना महामारीका कारण ०७६ चैतमा आफ्नो देश हुँदै अस्ट्रेलिया, अमेरिका, क्यानडा, युरोपलगायतका मुलुक छिर्ने हवाई ‘ट्रान्जिट’ रोकिएको थियो ।

चीनले आइतबार सूचना जारी गर्दै आजदेखि अन्तर्राष्ट्रिय हवाई ट्रान्जिट खुला गरेको जनाएको हो ।

चीनको सरकारी ध्वजाबहाक वायुसेवा एयर चाइनाले चीन हुँदै तेस्रो मुलुक जाने नेपाली यात्रुलाई अन्तर्राष्ट्रिय हवाई रुट खुला गरेको सूचना काठमाडौंमा रहेका आफ्ना ट्राभल एजेन्ट र सरोकारवालालाई पठाएको नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।

यो निर्णयले मलेसिया, हङकङ, श्रीलंका, भारत, दोहा, दुबई, टर्कीको बाटो हुँदै एकतर्फी कम्तीमा डेढ लाख रुपैयाँ हवाई भाडा तिर्ने नेपाली विद्यार्थी, कामदार, अभिभावकलाई सस्तो र सहज हुने पर्यटन व्यवसायीहरु बताउँछन् ।

अब त्यहाँ क्यारेन्टाइन बस्नुपर्ने नियम लगायतका अन्य कोभिड प्रोटोकल नभएको काठमाडौंमा रहेको एयर चाइनाको प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया