अन्ततः घुमिफिरी माओवादीमै मिसिने भए बाबुराम भट्टराई
अखबार टुडे
प्रकाशित:
२०७९, २३ पुष

काठमाडौं, २३ पुस । अन्ततः डा बाबुराम भट्टराई नेकपा माओवादीमै मिसिने भएको छ । पछिल्लो समय नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष रहेका डा बाबुराम भट्टराईले माओवादीसँग पार्टी एकता गर्ने भएका छन् ।

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराईबीच शनिबार भएको छलफलमा पार्टी एकता गर्न सहमत भएका हुन् ।

शनिबार माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड र नेसपाका अध्यक्ष भट्टराईबीच बालुवाटारमा भएको छलफलमा दुई पार्टीबीच एकता गर्ने सहमति भएको नेसपाका नेता गंगा श्रेष्ठले बताएका छन् ।

उनका अनुसार अब छिट्टै दुई पार्टीबीच एकता हुने भएको छ । उनले दुई अध्यक्षबीच सहमति भएको बताउँदै छिट्टै एकता हुने बताएका छन् । नेकपा माओवादी र नेसपाबीच चुनावताका नै एकता गर्नेबारे छलफल भएको थियो । एकताबारे प्रचण्ड र डा. भट्टराईबीच छलफल हुँदै आएपनि शनिबार सहमति जुटेको हो ।

नेसपासँग एकताबारे माओवादी केन्द्रको पदाधिकारी बैठकमा प्रस्ताव गरिने भएको छ । माअ‍ोवादीको आजै पदाधिकारी बैठक बस्दैछ ।

यस्तै, आइतबार बस्ने नेसपाको राजनीतिक समितिको बैठकमा एकताको प्रस्ताव गर्ने भएको छ । बैठकबाट पार्टी एकतालाई मूर्तरुप दिएर जाने सहमति भएको नेता श्रेष्ठले बताएका छन् ।

पार्टी एकतापछिको डा भट्टराईको स्थान के हुन्छ भन्नेबारे एकता हुने बेलामै तय गरिने भएको पनि नेता श्रेष्ठले बताएका छन् ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको एकताबारे छलफलमा प्रचण्ड र बाबुरामका आलावा नेताहरु गंगा श्रेष्ठ र विश्वदीप पाण्डे सहभागी थिए ।

प्रतिक्रिया