त्रिभुवन विमानस्थलमा यात्रुबाट जफत गरिएको १५१ मोबाइल लिलामीमा
अखबार टुडे
प्रकाशित:
२०७९, २२ पुष

काठमाडौं, २२ पुस । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले यात्रुबाट जफत भएका १५१ वटा मोबाइल सेट लिलामी बिक्रीमा राखेको छ ।

यात्रु जाँचपासका क्रममा अवैध ल्याइएका मोबाइल फोनहरु विमानस्थलले नियन्त्रणमा लिएपछि तोकिएको समयभित्र सम्बन्धित धनी सम्पर्कमा नआएमा त्यस्ता मोबाइल भन्सारले लिलामी बिक्रीका लागि राख्ने गरेको छ ।

मोबाइलधनी समयमै भन्सार शुल्क बुझाउन नआएपछि विमानस्थल भन्सारको मुद्दा तथा लिलामी शाखाले मोबाइलहरु लिलामी बिक्रीका लागि सूचना जारी गरेको हो ।

‘भन्सार नियमावली २०६४ को नियम ३५ को उपनियम २ मा भएको व्यवस्थाअनुसार शिलबन्दीको माध्यमद्वारा लिलाम बिक्री गर्नुपर्ने भएकाले इच्छुक संस्थाद्वारा यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र गोप्य शिलबन्दी दरभाउपत्र आहृवान गरिएको छ’ भन्सार कार्यालयद्वारा जारी सूचनामा भनिएको छ ।

लिलामी बिक्रीका लागि राखिएका ती १५१ मोबाइलको न्यूनतम मूल्य ९३ लाख ५४ हजार रुपैयाँ तोकिएको छ । लिलामीको ती मोबाइल खरिद गर्न चाहनेले भन्सार कार्यालयमा गई हेर्न सक्नेछन् ।

विदेशबाट फर्किने नेपाली नागरिकले आफूले चलाइरहेको मोबाइल मात्र ल्याउन पाउने व्यवस्था छ । सोभन्दा बढी ल्याएमा भन्सार शुल्क तिर्नुपर्दछ ।

तर तोकिएको समयमा भन्सार शुल्क तिर्न नगएमा र सम्पर्कमा नरहेमा भन्सार कार्यालयले सूचना सार्वजनिक गर्दै नियन्त्रणमा लिइएको मोबाइल लिलामी बिक्रीमा राख्ने गरेको छ । गोप्य शिलबन्दीमार्फत बढी मूल्य तिर्ने फर्म तथा संस्थाले ती फोन खरिद गर्न पाउने छन् ।

प्रतिक्रिया