सत्ताका लागि राप्रपासँग घाँटी जोड्दा संविधान र व्यवस्था नै धरापमा पर्न सक्छ: बाबुराम भट्टराई
अखबार टुडे
प्रकाशित:
२०७९, २२ पुष

काठमाडौं, २२ पुस । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले सत्ता गठबन्धनमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई महत्व दिन नहुने बताएका छन् ।

उनले सरकारको अंकगणितका निम्ति संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी शक्तिसँग घाँटी जोड्दा संविधान र व्यवस्था नै धरापमा पर्न सक्ने चेतावनी दिएका हुन् । गठबन्धन गर्दा लक्ष्मण रेखा पालना नगरिए ठूलो दीर्घकालीन क्षति हुन सक्ने बताएका छन् ।

अध्यक्ष भट्टराईले ट्वीट गर्दै भनेका छन्, ‘गठबन्धन गर्दा एउटा लक्ष्मणरेखा पालना गरिएन भने ठूलो दीर्घकालीन क्षति हुन सक्छ । सरकारको अंकगणितका निम्ति संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी शक्तिसँग घाँटी जोड्दा संविधान र व्यवस्था नै धरापमा पर्न सक्छ । २०५१ सालपछि कांग्रेस र कम्युनिष्टले पालैपालो राप्रपा बोक्दाको दुष्परिणाम नबिर्सौँ ।’

प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेको राप्रपाले सरकारलाई विश्वासको मत दिन र सरकारमा सहभागी हुन पृथ्वी जयन्तीमा बिदा दिनुपर्नेजस्ता सर्त राख्दै आएको छ ।

साथै, राप्रपाले संघीयता खारेजी र अभिभावकीय भूमिकामा राजा राख्नुपर्ने, एजेन्डा उठान गर्दै आएको छ । राप्रपाले सत्ता साझेदार दलहरूको बैठकमा उपप्रधानमन्त्रीसहित ४ मन्त्रालय पाउनुपर्ने दाबीसमेत राख्दै आएको छ ।

उसका सर्तहरू पूरा गरेर भए पनि सरकारमा सहभागी गराउने प्रयास एमाले र माओवादीले गरिरहेका छन् । यस्तो अवस्थामा भट्टराईले राप्रपा बोक्दा दुष्परिणाम निम्तन सक्ने उल्लेख गरेका छन् । कांग्रेसले गठबन्धनबाट अलग भएर आए राप्रपालाई प्रधानमन्त्रीको अफर गरेको समाचार पनि बाहिरएका छन् ।

प्रतिक्रिया