प्रचण्ड सरकार ढाल्न देउवा सक्रिय
अखबार टुडे
प्रकाशित:
२०७९, २२ पुष

काठमाडौं, २२ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा राजनीतिक भेटघाटमा सक्रिय भएका छन् ।

संविधानको धारा ७६ (२ ) अनुसार प्रधानमन्त्री भएका दाहालले यही पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यक्रम छ ।

विश्वासको मतका विषयमा राजनीतिक वृत्तमा अनेक अड्कलबाजी भइरहेका बेला पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले सरकारमा सहभागी हुने वा नहुने अलमलमा रहेको जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका हुन् ।

यादवसहितका दललाई विश्वासमा लिएर तत्कालै नयाँ सरकारको नेतृत्व गर्न सकिन्छ कि भन्ने गृहकार्यमा कांग्रेस जुटेको स्रोतको दाबी छ । दाहाल नेतृत्वमा सरकार बनेपछि केही दिन सुस्ताएका देउवाको यो राजनीतिक भेटवार्तालाई अर्थपूर्ण मान्न सकिन्छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी हुन चाहे पनि तत्कालीन राजा ज्ञानेन्द्र शाह त्यसको विपक्षमा देखिएका छन् । सर्तसहित सरकारमा सहभागी हुने केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअघि नै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्रलाई भेटेका थिए ।

कार्यसम्पादन समितिका धेरैजसो नेता सरकारमा सहभागी हुनुपर्ने पक्षमा उभिएपछि राप्रपाले सर्तसहित सहभागिता जनाउने निर्णय गरेको हो । त्यसलगत्तै राप्रपाका रवीन्द्र मिश्रसहितका नेताले पूर्वराजा ज्ञानेन्द्रलाई भेटेका थिए । राप्रपाले सरकारमा सहभागी हुन पृथ्वी जयन्तीका दिन (पुस २७ गते) सार्वजनिक बिदा र चारवटा मन्त्रालय दिइनुपर्ने सर्त राखेको छ ।

दाहाललाई प्रधानमन्त्री नियुक्त गर्न भन्दै शीतल निवास पुगेका राजनीतिक दलले नै विश्वासको मत नदिने त होइनन् भन्ने आशंका गर्न थालिएको छ ।

दाहालले २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत पाउन नसके राष्ट्रपतिले संविधानको धारा ७६ (३) अनुसार प्रतिनिधिसभामा सबैभन्दा ठुलो दलका नेतालाई प्रधानमन्त्री नियुक्त गनुपर्ने व्यवस्था छ । यसरी बन्ने प्रधानमन्त्रीले पनि एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

कांग्रेसका नेताहरू मुलुकको सत्ता राजनीतिलाई संविधानको धारा ७६ (३) को अवस्थामा पु¥याएर फेरि सत्तारोहण गर्न सकिन्छ कि भन्ने कसरतमा लागेको निकट स्रोतहरूको दाबी छ ।

यो कसरतमा पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौलासहितका नेता सक्रिय छन् । मुलुकमा राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको औंल्याउँदै कांग्रेस नेता रामचन्द्र पौडेलले पनि माओवादीसहितको पुरानो गठबन्धनलाई कायम गर्ने वा अन्य विभिन्न विकल्पमा जाने भन्ने विषयमा छलफल गरिरहेको स्रोतको दाबी छ । यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया