नेपाल टी-२०ः पोखरालाई हराउँदै जनकपुर प्लेअफमा
अखबार टुडे
प्रकाशित:
२०७९, २१ पुष

काठमडौं, २१ पुस । जनकपुर नेपाल टी– २० लिगको प्ले अफमा पुगेको छ । बिहीबार जनकपुर रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै प्ले अफमा पुगेको हो ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पोखराले १२ ओभरमा सबै विकेट गुमाएर ६८ रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले ९ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।

जनकपुरका लागि शारफुद्दिन असरफले २७ बलमा ३७ रन बनाए । त्यसअघि कप्तान ट्रेभोन ग्रिफिथ १७ रन जोडेर पेभेलियन फर्केका थिए । पोखरका लागि कुशल मल्ले तीन तथा अतिशा फर्नान्डोले एक विकेट लिए ।

पहिलो इनिङमा पोखराका लागि सिद्धान्त लोहनीले १७ तथा आसिफ शेख र कुशल मल्लले १६–१६ रन जोडेका थिए । त्यसबाहेक अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन । जनकपुरका लागि सोमपाल कामीले सर्वाधिक तीन तथा असरफ र ललित राजवंशीले दुई–दुई विकेट लिए ।

जितसँगै जनकपुर एक खेल अगावै प्ले अफमा पुगेको छ । लुम्बिनी अल स्टार्स यसअघि नै पहिलो क्वालिफायर खेल्ने निश्चित भइसकेको छ । ९ खेलबाट ६ अंक जोगेको पोखराको सम्भावना न्युन बनेको छ ।

प्रतिक्रिया