धानुक दासको हत्यामा परिवारकै संलग्नता : श्रीमती, ज्वाइँ र छोरा पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७९, २० पुष

जनकपुरधाम, २० पुस । धनुषाको मुखियापट्टी मुसहरनिया–३ का धानुक दासको हत्यामा परिवारकै सदस्यको संलग्नता भएको खुलेको छ ।

गत ९ पुसमा घरमै किराना पसल चलाइरहेका ४० वर्षीय दासको गोली हानेर हत्या भएको थियो । मोटरसाइकलमा आएका दुई व्यक्तिले उनीमाथि गोली हानेर भारततर्फ भागेका थिए । गोली लागेर गम्भीर घाइते भएका उनलाई जनकपुरधाम लानेक्रममा बाटोमै मृत्यु भएको थियो ।

उक्त घटनाको अनुसन्धानका क्रममा प्रहरीले मंगलवार तीन जनालाई पक्राउ गरेपछि सम्पत्तिकै कारण उनको हत्या भएको खुलेको हो । प्रहरीले हत्यामा संलग्न भएको आरोपमा मृतक दासको जेठी श्रीमती, उनको ज्वाइँ र २० वर्षीय छोरालाई पक्राउ गरेको छ ।

पक्राउ परेका मृतक दासका ज्वाइँ संघीय प्रहरी इकाई कार्यालय जनकपुरधाममा कार्यरत प्रहरी जवान हुन् । नाम नखुलेका ती प्रहरी जवानले नै दासलाई मार्न सुटर लगाएको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले जनाएको छ ।

तत्काल सुटरलाई १ लाख रुपैयाँसमेत दिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । तर, अहिलेसम्म सुटर पक्राउ परेका छैनन् । दासको हत्या गर्ने सुटरको पहिचान भइसकेको प्रहरीको दाबी छ । ती सुटरको खोजी जारी रहेको जनाएको छ ।

दासले दुई विवाह गरेका छन् । जेठी श्रीमतीतर्फ दुई छोरा र कान्छी श्रीमतीतर्फ एक छोरी छन् । कान्छी श्रीमतीसँग बस्दै आएका उनी र जेठी श्रीमतीबीच सम्पत्ति बाँडफाँडमा विवाद चल्दै आएको थियो ।

प्रतिक्रिया