बौलाहा कुकुरको आतङ्क, एकै दिन २५ जनालाई टोक्यो
अखबार टुडे
प्रकाशित:
२०७९, २० पुष

चितवन, २० पुस । चितवनमा बौलाहा कुकुरले एकै दिन २५ जनालाई टोकेको छ । इच्छाकामना गाउँपालिकाको विभिन्न गाउँमा बौलाहा कुकुरले उनीहरूलाई टोकेको हो ।

पालिकाको वडा नं ३ अन्तर्गत माझगाउँ, नागदह, ढाप, चिसापनीमा बौलाहा कुकुरले आतङ्क मच्चाएको थियो । घरमा काम गरिरहेको र बाटामा हिँडिरहेका व्यक्तिलाई बौलाहा कुकुरले टोकेको थियो ।

गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालका अनुसार दुई घण्टाको बीचमा बौलाहा कुकुरले उनीहरूलाई टोकेको हो । उनीहरूमध्ये २० जनाको कुरिन्टार स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरिएको र सख्त घाइते पाँच जनाको थप उपचार भरतपुर अस्पतालमा भइरहेको उनले जानकारी दिइन् ।

बौलाहा कुकुरले टोकेको खबर आएसँगै पालिकाले सो कुकुर नियन्त्रणमा लिई मारेर परीक्षणका लागि पठाइएको उपाध्यक्ष सिलवालले बताइन् । बौलाहा कुकुरले टोकेका सबैलाई स्वास्थ्य संस्थामा सम्पर्क राख्न गाउँपालिकाले अनुरोध गरेको त्यहाँका स्वास्थ्य शाखा प्रमुख वासुदेव सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया