
काठमाडौं, १९ पुस । राहदानी विभागले अनिश्चितकालका लागि राहदानी (पासपोर्ट) वितरण तथा छपाइ रोकेको छ ।
यही गएको १७ गतेदेखि नै सिष्टममा समस्या आएको भन्दै विभागले राहदानी छपाइ र वितरण कार्य रोकेको थियो । मंगलबार सूचना जारी गर्दै सिष्टममा समस्या आउँदा छपाइ र वितरण अवरूद्ध भएको जनाएको छ ।
विभागकी निर्देशक एवं प्रवक्ता दुरपदा सापकोटाले विभागको सिष्टममा समस्या आएकाले राहदानी वितरण र छपाइ रोकिएको बताएका छन् ।
‘विभागले सो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिष्टमले पूर्ण रूपमा सुचारू हुन केही समय लाग्ने भएकोले राहदानीका लागि आवेदन दिएकाहरूले आफ्नो मोबाइलमा एसएमएस आएपछि मात्रै विभाग आउन अनुरोध छ’ सूचनामा भनिएको छ ।
नियमित रूपमा राहदानी आवेदनका लागि बुक गरेकाहरूले भने बुक गरेको मिति र समयमा बायोमेट्रिकको लागि विभागमा आइदिन आग्रह गरेको छ ।
मंगलबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवहरूलाई निर्देशन दिँदै राहदानीलगायतमा सेवाग्राही लाइनमा बस्नुपर्ने बाध्यता एक महिनाभित्र हल गर्न र नभएमा कारबाही गरिने चेतावनी दिएका थिए ।
यस्तै, गृह मन्त्रालयले पनि राहदानी लिन सेवाग्राहीको भिडभाड बढेपछि समस्या बुझ्न र समाधान गर्न चार सदस्यीय विज्ञ टोली अनौपचारिक रूपमा खटाएको थियो ।
