नेपाल टी-२० लिगमा फिक्सिङ भएको कमेन्टेटर सचिन तिमल्सेनाको दाबी
अखबार टुडे
प्रकाशित:
२०७९, १९ पुष

काठमाडौं, १९ पुस । कमेन्टेटर सचिन तिमल्सेनाले नेपाल टी–२० लिगमा ‘स्पट फिक्सिङ’ भएको दाबी गरेका छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी नेपाल टी–२० लिगमा ‘स्पट फिक्सिङ’ भएको कमेन्टेटर सचिनले दाबी गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्दै भनेका छन्, ‘कतिपय घटनाले गर्दा यो(नेपाल टी–२०) लिग विवादित मात्र होइन, क्रिकेटलाई गलत तरिकाले प्रयोग गरेर फिक्सिङ गराउने क्रियाकलाप मैले देखेँ । लिगमा हदैसम्मको बदनियत देखिन्छ । नेपाल टी–२० फिक्सरको हातमा गएको छ ।’

फिक्सिङका लागि कतिपय खेलाडी प्रयोग गरिएको उनको दाबी छ । त्यसमा नेपाली खेलाडीलाई समेत प्रयोग गरिएको उनले बताएका छन् ।

कमन्ट्री गर्दा मैले हरेक बल नियालेर हेरेको बताउँदै उनले भनेका छन्, ‘सबैभन्दा पीडादायी क्षण के रह्यो भने एक जना नेपाली राष्ट्रिय टिमबाट खेलिसकेको अलराउन्डर छन्, उनले नो बल फाले । त्यति लामो नो बल व्यवासायिक क्रिकेटरले गर्नै सक्दैन ।’

उनले केही टिममा खासै नाम नचलेका विदेशी खेलाडीलाई कप्तानी गराएको, सिकन्दर राजाजस्ता खेलाडीलाई खेल्दाखेल्दै पनि ड्रप गर्नु, बलिङ धार नभएका खेलाडीलाई बलिङ गर्न लगाउने, सोमपाललाई बलिङ नदिएर खासै प्रभाव नभएको बलरलाई रन खानका लागि बलिङ गर्न दिइनु शंकास्पद रहेको बताएका छन् ।

फिक्सिङको आशंका गर्दै लिगका लागि खटिएका एन्टी करप्सन युनिटका व्यक्तिलाई उजुरी गरेको पनि उनको भनाइ छ । उनका अनुसार स्पट फिक्सिङमा खेलको दौरानमा केही त्यस्तो काम हुनेछ, जुन पहिले नै गर्न भनिएको हुन्छ ।

६ टिमको सहभागिता रहेको टी–२० लिग सुरूदेखि नै विवादमा परेको थियो लिगलाई नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई आयोजनाको जिम्मा दिएको थियो ।

प्रतिक्रिया