लागुऔषध कारोबारमा गाउँपालिका अध्यक्षलाई साढे ३ वर्ष कैदको फैसला
अखबार टुडे
प्रकाशित:
२०७९, १९ पुष

गलकोट, १९ पुस । बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा तीन वर्ष छ महिना कैद फैसला भएको छ ।

अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजलासले तीन वर्ष छ महिना कैद सहित ५० हजार जरिवाना फैसाला गरेको जिल्ला अदालतका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिए ।

निसीखोला –६ को वडाध्यक्ष हुँदा विसं २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका घर्तीमाथि लागेको लागुऔषध गाँजा÷चरेससम्बन्धी कसुर २०७९ पुस ३ गते ठहर भएको थियो ।

सोमबार जिल्ला अदालत बागलुङका न्यायाधीश भट्टको इजलासले घर्तीमाथि लागेको कसुर ठहर गर्दै सजाय निर्धारणको गरेको हो । इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई तत्कालीन अवस्थामा घरबाटै पक्राउ गरेको थियो ।

बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा ‘सप्लाई’ गर्ने व्यक्तिको खोजी गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो । तत्कालीन वडाध्यक्ष घर्तीको घरबाट बरामद भएको गाँजा धुलो पारिएको अवस्थामा भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरी २०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागुऔषध गाँजा÷चरेस नियन्त्रण ऐन २०३३ सम्बन्धी मुद्दा दर्ता भएको थियो । फैसलाको पूर्णपाठ आउन बाँकी रहेको सूचना अधिकारी भण्डारीले बताए ।

प्रतिक्रिया