सत्तारूढ गठबन्धनमा सामेल हुन सक्दैनौँ : अध्यक्ष नेपाल
अखबार टुडे
प्रकाशित:
२०७९, १८ पुष

काठमाडौं, १८ पुस । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारूढ गठबन्धनमा सामेल हुन नसक्ने बताएका छन् ।

आज सोमवारदेखि काठमाण्डौमा सुरु भएको पार्टी पोलिटब्युरो बैठकमा बोल्दै अध्यक्ष नेपालले देश र नागरिकको हितलाई केन्द्रविन्दुमा राखेर आफ्नो पार्टी अघि बढ्ने बताए ।

उनले भने, ‘हाम्रो पार्टी सत्तारूढ गठबन्धनमा सामेल हुन सक्दैन । कुनै पनि शक्तिको पछि लाग्दैन । हामी देशको हितलाई केन्द्रविन्दुमा राखेर अघि बढ्न चाहन्छौँ । नेपाली नागरिकको भावनालाई केन्द्रविन्दुमा राखेर अघि बढ्न चाहन्छौँ । ’

यो आरोप–प्रत्यारोप गर्ने बेला पनि होइन । कसैको सामु लत्रिनुपरेको पनि छैन । हामीले ठिक गरेका छौँ । दृढताका साथ उभिएका छौँ । हामी सबै कुराको वस्तुनिष्ठ समीक्षा गर्दै अघि बढ्न तयार छौँ ।’

आफ्नो पार्टीले वर्तमान राजनीतिक परिस्थितिमा ठिक गरिरहेको उल्लेख गर्दै उहाँले कसैको अघि लत्रने पक्षमा नरहेको बताए । देशको पछिल्लो राजनीतिक परिस्थितिबारे समीक्षा गरेर आफूहरू अघि बढ्ने तर आरोप–प्रत्यारोपको राजनीति गर्ने पक्षमा आफ्नो पार्टी नरहेको उनको भनाइ छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सामेल हुन आग्रह गरिरहँदा उहाँको यस्तो अडान बाहिर आएको हो । बैठकमा सरकारमा जाने कि बाहिर बसेर समर्थन मात्र गर्ने भन्ने विषयमा समेत छलफल भइरहेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए । त्यसैगरी बैठकमा चुनावको समीक्षा, पार्टीको भावी नीति र कार्यक्रमबारे पनि छलफल हुने नेकपा एकीकृत समाजवादीले जनाएको छ ।

प्रतिक्रिया