आगामी तीन दिन अत्याधिक चिसो बढ्ने, बिहान बाहिर ननिस्कन सुझाव
अखबार टुडे
प्रकाशित:
२०७९, १७ पुष

काठमाण्डौं, १७ पुस । आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने भन्दै बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरूले सुझाव दिएका छन् ।

पश्चिमी वायुको प्रभावका कारण आउँदो तीन दिनसम्म देशका धेरैजसो ठाउँमा शीतलहरको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका हुन् ।

जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले पश्चिमी वायुका कारण चिसो बढिरहेको बताए । उनका अनुसार आज (आइतवार) देखि तीन दिनसम्म देशको धेरैजसो भागमा शीतलहरको सम्भावना रहेको छ ।

उनले भने, ‘पछिल्लो समय एकपछि अर्को पश्चिमी वायुका कारण चिसो बढेको छ । आजदेखि तीन दिनसम्म देशको धेरैजसो भागमा लगभग शीतलहरकै अवस्था रहन्छ । चिसो अझै बढ्नेछ ।’

पश्चिमी वायुको प्रभाव परेका कारण तुँवालो लाग्ने, चिसो बढ्ने, हिमपातको अवस्था रहेको भन्दै बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी, मुटुका रोगीहरूले बिहानको समयमा घरबाहिर ननिस्किन उनको सुझाव छ ।

उप्रेतीले जनवरी, फ्रेब्रुअरी र मार्चमा न्यूनतम तापक्रम औसतभन्दा तल हुने र वर्षा पनि कम हुने बताए । हिउँदामा वर्षा कम र चिसो बढी भएको खण्डमा यसको सबैभन्दा बढी असर वायु प्रदूषणमा पर्ने उनको भनाइ छ ।

विज्ञ उप्रेतीले अहिले समुद्री सतहको तापक्रम औसतभन्दा कम रहेकाले चिसो बढिरहेको बताए । उनले न्यूनतम तापक्रम घट्दै जाँदा चिसो र शीतलहर बढाउने भएकाले जनवरी ४ सम्म देशको पश्चिमी भागमा यसको असर पर्ने भन्दै सचेत रहन आग्रह गरे ।

तापक्रममा हुने परिवर्तन र वायुमण्डलमा हुने परिवर्तनका कारण विश्वको तापक्रमलाई असर गर्ने भन्दै नेपालले पनि चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु जरुरी रहेको उनले बताए ।

डा. उप्रेतीले देशभर चिसो बढेकाले बिहानको समयमा बाहिर भरसक हिँडडुल गर्न वा घरभित्रै व्यायाम गर्न, न्यानो लुगा लगाउन, पानीमा धेरै बेर नभिज्न, बिहान बहिर हिँड्नै परे मास्कको प्रयोग गर्न सुझाव दिए ।

यस्तै झ्याल÷ढोका खोलेर वा पर्याप्त हावा ओहोरदोहोर हुनेगरी मात्र आगो वा हिटर ताप्न, गाडी चलाउँदा गति सीमित हुनेगरी चलाउन र फोग लाइटको प्रयोग गने, विद्यालयमा केही दिन बिदा वा प्रविधिको प्रयोग गरी सम्भव भएसम्म अनलाइन कक्षा सञ्चालन गर्न उनको सुझाव छ ।

प्रतिक्रिया