पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्न चीनलाई मुख्यमन्त्री पोखरेलको आग्रह
अखबार टुडे
प्रकाशित:
२०७९, १७ पुष

पोखरा, १७ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवाह भएको ७५ प्रतिशत ऋणलाई अनुदानमा परिणत गर्न चीनलाई आग्रह गरेका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले चीनको एक्जिम बैंकबाट विमानस्थल निर्माणका लागि लिइएको करिब रु २२ अर्बमध्ये ७५ प्रतिशत ऋणलाई पनि अनुदानमा परिणत गर्न आग्रह गरेका हुन् ।

‘म नेपालस्थित चिनियाँ राजदूतावासमार्फत् चीन सरकारसमक्ष ७५ प्रतिशत ऋणलाई पनि अनुदानमा परिणत गर्न आग्रह गर्दछु,’ उनले भने ।

विमानस्थल निर्माणका लागि कुल लगानी करिब २२ अर्ब रुपैयाँमध्ये २५ प्रतिशत अनुदान र बाँकी ७५ प्रतिशत ऋण लिइएको थियो । मुख्यमन्त्री पोखरेलले ४७ वर्षदेखिको पोखरावासीको सपना बल्ल साकार भएको बताए । सो अवसरमा उनले सम्पूर्ण पोखरेली, परिकल्पनाकार शंकरराज पाठक तथा विमानस्थल निर्माणमा खट्ने सबैलाई धन्यवाद समेत दिए ।

विमानस्थलबाट पहिलो चरणमा दक्षिण एसिया र दोस्रो चरणमा पश्चिमी देशमा हवाई उडान हुनुपर्ने उनको भनाइ थियो। विमानस्थल सञ्चालनमा आएपछि पोखरामा पर्यटकको संख्या उल्लेख्य मात्रामा बढ्ने मुख्यमन्त्री पोखरेलले विश्वास व्यक्त गरे । ‘पोखरामा अब कम्तीमा दुई साता बस्ने र दुई हजारभन्दा बढी डलर खर्च गर्ने पर्यटक ल्याउन सक्नुपर्छ,’ उनले भने ।

मुख्यमन्त्री पोखरेलले अन्तर्राष्ट्रिय सभाहल र क्रिकेट मैदान पनि पोखराका लागि आवश्यक भएको उल्लेख गर्दै यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष आवश्यक बजेटक विनियोजनका लागि आग्रह गरे ।

प्रतिक्रिया