
काठमाडौं, १६ पुस । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइतबारबाट सञ्चालनमा आउने भएको छ । पोखरास्थित यो विमानस्थल नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल हुनेछ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
विमानस्थल उद्घाटन भएपनि उडान सुरु गर्न ‘कम्तीमा दुई महिना’ समय लाग्ने बताइएको छ । सुरुमा उक्त विमानस्थलमा आन्तरिक उडान हुने र त्यसकालागि आवश्यक लगभग सबै तयारी सम्पन्न भइसकेको बताइएको छ । यान्त्रिक परीक्षण उडान अर्थात् ‘क्यालिब्रेशन फ्लाइट’ सम्पन्न भएसँगै आन्तरिक सेवा आरम्भ गर्नका लागि विमानस्थल तयार भएको हो ।

तर, अझैपनि केही प्राविधिक पाटा सक्न बाँकी रहेकाले अन्तर्राष्ट्रिय उडान सुरु हुन केही समय लाग्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल बाहिरका गन्तव्यसँग जोड्नका लागि बुद्ध एअरले पहल गरिरहेको छ । बुद्ध एअरले पोखरामा आधारित रहेर नेपाल तथा नेपाल बाहिरका विभिन्न गन्तव्यमा सेवा सञ्चालन गर्न चाहेको हो ।
भारतका विभिन्न सहरमा उडान भर्नका लागि उक्त कम्पनीले भारत सरकारसँग अनुमति माग गरेको र भारतबाट अनुमति प्राप्त भएको केही समयमै आफूहरू अनुमति दिनका लागि तयार रहेको क्यानले जनाएको छ ।
बुद्ध एअरका प्रवक्ता दीपेन्द्र कर्णका अनुसार तत्काललाई उक्त कम्पनीले पोखरा–बनारस उडान सुरु गर्न चाहेको छ भने क्रमिक रूपमा पोखरा–दिल्ली र पोखरा–देहरादूनसम्म उडान भर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

साथै, हिमालयन एअरलाइन्स, फ्लाइ दुबई, कतार एअरवेज र नेपाल एअरलाइन्सले नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा सञ्चालनका लागि चासो देखाएको क्यानले जनाएको छ । त्यस्तै नेपाली कम्पनी श्री एअरलाइन्सले पनि अन्तर्राष्ट्रिय उडानको अनुमति लिएको र उसले पनि पोखराबाट उडान भर्ने इच्छा व्यक्त गरेको बताइएको छ ।
सुरुवाती चरणमा पोखरा विमानस्थलबाट भीएफआर (भिजुअल फ्लाइट रुल्स) उडानमात्रै गर्न मिल्ने क्यानले जनाएको छ । क्यानका अनुसार पोखरा विमानस्थलको क्यालिब्रेशन डेटा जनवरी ४ मा प्रकाशन गर्ने तयारी गरिएको छ । त्यसको ५६ दिनपछि मात्रै उक्त डेटा ‘म्याचुअर’ हुने र इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आईएफआर) विधिबाट सेवा सञ्चालन गर्न सकिने बताइएको छ ।
यसअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि ल्याण्डफिल साइट पुर्ने र रिठ्ठेपानी डाँडा कटान गर्ने कार्य महत्वपूर्ण रहेको बताइएको थियो । तर, हाल ल्याण्डफिल साइट पुर्ने काम लगभग सम्पन्न भएको छ ।
२५०० मिटर लामो धावनमार्ग रहेको अन्तर्राष्ट्रिय विमानस्थल भएपनि पोखरामा ‘न्यारो बडी’ विमान मात्रै अवतरण गर्न मिल्छ । क्यानका अनुसार त्यहाँ अवतरण हुनसक्ने सबैभन्दा ठूलो एअरबस ए३२० हो ।
यसबाहेक बोइङ ७३७–७०० सिरिज वा बोइङ ७५७–२०० जस्ता न्यारोबडी विमानका पोखरामा उडानका लागि अनुकूल मानिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग प्रतिघण्टा झन्डै ६०० यात्रु व्यवस्थापनको क्षमता रहेको विमानस्थलका अधिकारीहरूले बताएका छन् ।
विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीले एक पटकमा ३ वटा अन्तर्राष्ट्रिय विमान एवं ठूलासाना ४–४ वटा गरेर आठ वटा आन्तरिक सेवाका विमान रहन सक्ने बताएका छन् ।
यसअघि सञ्चालनमा आएको नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हालसम्म क्षमता अनुरूप सञ्चालनमा आउन सकेको छैन । करिब सात महिनाअघि सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केही चार्टर उडानबाहेक साताको तीन दिन जजिरा एअरले उडान गरिरहेको छ ।
तर क्यानका प्रवक्ता निरौलाका अनुसार अन्य मुलुकमा पनि नयाँ विमानस्थल पूर्ण क्षमतामा चल्न समय लाग्ने गरेको पाइन्छ । उनका अनुसार कोभिड महामारीका कारण अन्य मुलुकबाट नेपालमा हुने उडान सङ्ख्या केही घटेको छ । नेपाल आउने ५० प्रतिशत पर्यटक पोखरा जाने हुँदा नवनिर्मित विमानस्थलमा छिट्टै चाप बढ्ने अपेक्षा गरिएको छ ।