महामन्त्रीद्वय भन्छन्, ‘अब कांग्रेसले गम्भीर आत्मसमीक्षा गर्न आवश्यक छ’
अखबार टुडे
प्रकाशित:
२०७९, १६ पुष

काठमाडौं, १६ पुस । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रका शर्माले पार्टीमा भएका कमजोरीलाई ढाकछोप नगरी खुला छलफल गर्नुपर्ने बताएका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको शनिबार संयुक्त शुमकामना सन्देश जारी गर्दै उनीहरुले मंसिर ४ मा सम्पन्न निर्वाचनपछि मुलुकमा भिन्न राजनीतिक परिस्थिति निर्माण भएको बताएका छन् ।

निर्वाचनको परिणामअनुसार संसदको सबैभन्दा ठूलो दल भएर पनि कांग्रेस प्रतिपक्ष बन्न पुग्दा पार्टीभित्र गम्भीर असन्तुष्टि, आक्रोश र उदासी छाउनु अस्वभाविक नभएको उनीहरुले बताएका छन् ।

‘पहिलो, आग्रह र पूर्वाग्रहमुक्त भएर संयमतापूर्वक समग्र घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिको इमानदार समीक्षा गर्ने । दोस्रो, यसबीचमा हाम्रो असावधानी, कमजोरी र गल्ती जो भएको छ, त्यसलाई कुनै ढाकछोप नगरी स्वीकार्दै खुला र पारदर्शी छलफलमार्फत कारण र कारकको प्रष्ट पहिचान गरेर अबको मार्गचित्र तय गर्नुपर्र्छ’ उनीहरुले भनेका छन् ।

कांग्रेसले गम्भीर आत्मसमीक्षा र आत्ममूल्यांकन गर्दै सुविचारित ढंगबाट अबको बाटो तय गर्न आवश्यक रहेको समेत उनीको भनाइ छ ।

साथै, गठबन्धनको सरकार बनाउन पर्याप्त गृहकार्य र सावधानी पु¥याउन नसक्दा सत्ताको राजनीतिमा यो पटक पछि परेको उनीहरुले ठहर गर्दै अब सरकारलाई जनताप्रति जवाफदेही बनाउन जिम्मेवार प्रतिपक्षको रुपमा सशक्त भूमिका निर्वाह गर्ने पनि बताएका छन् ।

उनीहरुले भनेका छन्, ‘हामी उच्च नैतिक बलका साथ दाबी गर्न सक्छौं कि निर्वाचनको बेला एउटा गठबन्धन र एउटा बाचाबन्धन गरेर जाने, तर निर्वाचनपछि अर्कै बाटो हिँड्ने बेइमानी कम्तिमा हामीबाट भएन । कांग्रेसले सरकारलाई गुण र दोषका आधारमा मूल्यांकन गर्नेछ, जनताप्रति जवाफदेही बनाउन जिम्मेवार प्रतिपक्षको रुपमा सशक्त भूमिका निर्वाह गर्नेछ ।’

प्रतिक्रिया