कम्बोडियाको क्यासिनोमा आगलागी हुँदा एक नेपालीसहित १९ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७९, १५ पुष

काठमाडौं, १५ पुस । उत्तरी कम्बोडियाको ब्यान्टी मेनाची प्रान्तमा रहेको एक क्यासिनोमा आगलागी हुँदा एक जना नेपालीको मृत्यु भएको खुल्न आएको छ । झापाको विर्तामोड नगरपालिका १ घर भएका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको हो ।

उनले क्यासिनोमा आगलागी भएपछि ज्यान जोगाउन क्यासिनोको १२ औँ तलाबाट हाम फालेका थिए । पाण्डेले हामफाल्नुअघि परिवारदेखि गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई सम्पर्क गरेको पाइएको छ ।

पाण्डेले भिडियोमा आफ्नो परिवार र ९ वर्षीय छोराको ख्याल गरिदिन आग्रह गरेका छन् । पाण्डेले आफ्ना बुबा अग्नि पाण्डे, आमा, श्रीमती, ९ वर्षीय छोरा, दाइ र भाइहरूसँग कुराकानी गरेका थिए ।

उनले आगलागीपछि एनआरएनए कम्बोडिया शाखाका अध्यक्ष लालसिंह खड्कालाई सम्पर्क गरेर शव घरसम्म पुर्‍यादिन आग्रह गरेका थिए । नआत्तिन र उद्धारको प्रयास भइरहेको बताए पनि पछि झ्यालबाट हाम फालेको खड्काले बताएका छन् ।

बिहीबार राति भएको आगलागीमा परेर कम्तीमा पनि १९ जनाको मृत्यु भएको र मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

कम्बोडियाली सुरक्षा अधिकारीले त्यहाँ जलेर ज्यान जानेमा होटलका कर्मचारी र केही पाहुना रहेका छन् । सो प्रतिवेदनमा २३ जना जलेर गम्भीर रुपमा घाइते भएका र अरु ५० जना सामान्य घाइते रहेका छन् ।

होटलको भवनमा आगो लागेपछि निभाउने प्रयास भएको तर आगोको लप्काले मानिसहरूलाई लागेपछि उनीहरूको जलेर मृत्यु भएको बताइएको छ । सो प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले आगो लागेको होटलमा हराइरहेका केही व्यक्तिको खोजीमा प्रहरी लागेको तर उनीहरू कुनै कोठामा निसास्सिएर रहेको हुनसक्ने बताएको छ ।

बीबीसीले केही मानिसहरू क्यासिनोको माथिल्लो तलाबाट हामफालेको पनि देखिएको बताएको छ । सो क्यासिनो थाइल्यान्डको सीमा नजिकै रहेको थियो ।

प्रतिक्रिया