विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन
अखबार टुडे
प्रकाशित:
२०७९, १५ पुष

काठमाडौं, १५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्केका नेपालीलाई मोबाइल फोन ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले नयाँ गर्न खोजिएको कडाइ लागू नगर्न र पुरानै चलिरहेको प्रक्रियामै रहनदिन अर्थमन्त्रीलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेले प्रधानमन्त्रीको निर्देशनपछि सोहीअनुसार चल्ने बताएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले एमडिएमएस प्रणाली लागू गर्दै भन्सार छलेर ल्याइएका मोबाइल फोनहरु १५ पुसदेखि नेपालमा नचल्ने व्यवस्था गरेको छ ।

यो व्यवस्था अनुसार विदेशबाट फर्किने क्रममा कसैले उपहारको रुपमा एकभन्दा बढी (दोस्रो) मोबाइल फोन ल्याएमा १८ प्रतिशत भन्सार लाग्ने र तेस्रो मोबाइल जफत नै गर्ने निर्णय सरकारले गरेको छ ।

यो निर्णय गरेसँगै चौतर्फी आलोचना भएको थियो । विदेशबाट एकथान मोबाइल ल्याउँदा पनि सरकारले १८ प्रतिशत कर लिन लागेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले ‘नो रेमिट्यान्स’ ह्यासट्याग प्रयोग गर्दै विरोध जनाएका छन् । उनीहरुले रेमिट्यान्सबाट पैसा पठाउन रोक्ने भन्दै सामाजिक सन्जालमा ‘नो रेमिट्यान्स’ अभियान चलाएका हुन् ।

यस्तै प्रधानमन्त्री प्रचण्डले नेपाल दूरसञ्चार प्राधिकरणलाई पनि एमडिएमएस प्रणाली तत्कालको लागि कार्यान्वयन नगर्न निर्देशन दिएको छ ।

शुक्रबारदेखि पूर्ण रूपमा लागू गर्ने भनिएको एमडिएमएस प्रणाली अनिश्चित कालको लागि स्थगित भएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए ।

उनले भने, ‘तत्काल यो सेवालाई थप व्यवस्थापन गरेर मात्रै अघि बढाउनू निर्देशन दिनुभएको छ । प्राधिकरणको यो निर्णयलाई कार्यान्वयन गर्न भन्सार विभागको पनि प्रत्यक्ष संलग्नता हुन्छ । त्यता पनि समन्वय गर्नुपर्ने संकेत गर्नुभएको छ ।’ भन्सार विभाग र प्राधिकरणको समन्वयनको आवश्यकता भएको प्रधानमन्त्रीको भनाइ रहेको उनले बताए ।

मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न तथा चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न यो व्यवस्था लागू गरिएको प्राधिकरणले जनाएको थियो ।

प्रतिक्रिया