ब्राजिलका महान फुटबलर पेलेको निधन, तीन दिन राष्ट्रिय शोकको घोषणा
अखबार टुडे
प्रकाशित:
२०७९, १५ पुष

काठमाडौं, १५ पुस (एजेन्सी) । ब्राजिलका विश्वविख्यात फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ ।

क्यान्सरबाट पीडित ब्राजिलका फुटबलर पेलेको अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचार भइरहेको थियो । स्थानीय समय अनुसार दिउँसो ३ः२७ बजे उनको निधन भएको अस्पतालले जनाएको हो ।

पेले पछिल्लो समय किड्नी र प्रोस्टेटको समस्याबाट गुज्रिरहेका थिए । सन् २०२१ को सेप्टेम्बरमा शल्यक्रियाबाट क्यान्सरको ट्युमर हटाइएको थियो । सन् २०२२ को नोभेम्बरयता उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

पेलेको निधनमा तीन दिन ब्राजिलमा राष्ट्रिय शोकको घोषणा गरिएको छ । राष्ट्रपति जैर बोल्सोनारोको सरकारले तीन दिने शोकको घोषणा गर्दै एक विज्ञप्तिमा निकालेर पेले ब्राजिलको नाम उचाल्ने एक महान र देशभक्त नागरिक भएको बताएका छन् ।

१७ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका उनको खेल जीवनमा उनले सन् १९५८ देखि १९७० को बीचमा चार पटक विश्वकप प्रतियोगितामा भाग लिएका थिए । तीमध्ये पेलेले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेका थिए ।

उनले विश्वकपका कुल १४ वटा खेलमा १२ गोल गरेका छन् । सन् २००० मा फिफाले उनलाई दशकको खेलाडी घोषणा गरेको थियो । ६२ वर्ष फुटबल खेलाडीको रुपमा बिताएका उनले आफ्नो २१ वर्ष लामो खेल जीवनमा विश्व कीर्तिमान १ हजार २ सय ८१ गोल गरे ।

ब्राजिलका लागि ९२ खेल खेल्दै उनले ७७ गोल गरेका छन् । २१ वर्षको करियरमा उनले कुल १,३६३ खेल खेल्दा विश्व कीर्तिमान १,२८१ गोल गरेका थिए ।

प्रतिक्रिया