प्रभु साहले खोले आम जनता पार्टी
अखबार टुडे
प्रकाशित:
२०७९, १४ पुष

काठमाडौं, १४ पुस । एमाले छाडेका नेता प्रभु साहले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गरेका छन् । बिहीबार एक कार्यक्रम गर्दै साहले आनफ्नो अध्यक्षतामा पार्टी घोषण गरेको हो ।

पार्टीको केन्द्रीय कमिटी ५१ सदस्यीय बनाइएको छ । सातै प्रदेश इन्चार्ज र अध्यक्ष चयन गरिएको साहको सचिवालयले जानकारी दिएको छ ।

जसअनुसार प्रदेश १ को अध्यक्षमा हरिप्रसाद पोखरेल छन् भने इन्चार्जमा रामप्रित राम चयन भएका छन् । त्यस्तै मधेसमा श्रीचन मुखिया अध्यक्ष र उपेन्द्र साह इन्चार्ज, बागमतीमा नाम्गेल मोक्तान अध्यक्ष र बद्रीप्रसाद न्यौपाने इन्चार्ज, गण्डकीमा राजन यादव ‘मनोज’ अध्यक्ष र बद्रीप्रसाद न्यौपाने इन्चार्ज, लुम्बिनीमा परमानन्द वर्मा अध्यक्ष र रीता देवी यादव इन्चार्ज, कर्णालीमा सियाराम कुश्वाह अध्यक्ष र उपेन्द्र साह इन्चार्ज तथा सुदूरपश्चिममा केशव राय चौधरी अध्यक्ष र कुन्दन कुश्वाह इन्चार्ज तोकिएका छन् ।

आम जनता पार्टीसँग एकता र सहकार्यका लागि ३ सदस्यीय वार्ता टोली पनि बनाएको छ । जसमा उपेन्द्र साह, रामप्रित राम र इस्लाम हवारी रहेका छन् ।

लामो समय माओवादीमा सक्रिय रहेका साह नेकपा विभाजनपछि एमालेमा गएका थिए । तर, मंसिर ४ मा भएको प्रतिनिधिसभा÷प्रदेशसभा चुनावमा उनी एमालेले दिएको टिकट छाडेर स्वतन्त्र उम्मेदवारी दिएर रौतहट– ३ बाट निर्वाचित भएका हुन् ।

स्वतन्त्र उम्मेदवार जिताउँ अभियानलाई पार्टीमा रूपान्तरण गरिएको साहले जानकारी दिएका छन् । साथै पार्टीको अन्तरिम विधान २०७९ पनि पारित भएको साहले जानकारी दिए । गत चुनावमा एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका साहले स्वतन्त्र उम्मेदवार जिताउँ अभियान चलाएका थिए ।

प्रतिक्रिया