३५ तोला सुन र २५ लाख नगदसहित पक्राउ परेका डिएसपी ठगबहादुर निलम्बित
अखबार टुडे
प्रकाशित:
२०७९, १४ पुष

काठमाडौं, १४ पुस । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसी निलम्बित भएका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले केसीलाई बिहीबार निलम्बन गरेको हो ।

केसीलाई हिरासतमा लिने÷नलिने जिम्मेवारी अनुसन्धान अधिकृतसँग हुने प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले बताए । उनका अनुसार केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीले थप अनुसन्धान गर्ने छ ।

सुन व्यापारीहरूसँग रकम असुली गरेको सूचनापछि केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई आइतबार साँझ निवासबाट पक्राउ गरेको थियो । उनको घरबाट ३५ तोला सुन, १८ लाख रुपैयाँको चेक बरामद भएको थियो ।

गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनिहरुमाथि छानबिन सुरू गरेको थियो । केसीले सुन नियन्त्रणमा लिई व्यापारीसँग २५ लाख रुपैयाँ मागेको आरोप छ ।

व्यापारीले २५ लाख रुपैयाँ बुझाए पनि सुन फिर्ता लिन नपाउँदै केसीलाई प्रहरीको छानबिन टोलीले नियन्त्रणमा लिएको थियो । यसअघि नै इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई जाने तयारी थिए ।

केसी तिनै डिएसपी हुन्, जसले १ साउनमा तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतका बीचमा विवाद बढ्दै जाँदा वडाध्यक्षलाई लात्ताले हानेर पोखरीमा फ्याँकिदिएका थिए ।

प्रतिक्रिया