अमेरिकाद्वारा चिनियाँ यात्रुमाथि कडाई
अखबार टुडे
प्रकाशित:
२०७९, १४ पुष

न्युयोर्क, १४ पुस (एजेन्सी) । अमेरिकाले चीनबाट आफ्नो देश आउने यात्रुलाई कडाई गर्ने भएको छ । आगामी जनवरी ५ देखि चीनबाट अमेरिका भित्रने यात्रुले अनिवार्य रूपमा कोभिड निगेटिभ रहेको रिपोर्ट पेस गर्नुपर्ने नियम लागू गरेको हो ।

यो नियम मुख्य भूमि चीन, हङकड्ड र मकाउबाट आउने दुई वर्षमाथिका सबै हवाई यात्रुमा लागू हुनेछ । साथै तेस्रो मुलुक हुँदै आउने यात्रुका लागि र अमेरिका हुँदै अन्य गन्तव्यमा जान चाहने यात्रुका हकमासमेत लागू हुने छ ।

अमेरिकी स्वास्थ्य मन्त्रालयका अनुसार यात्रुले प्रस्थानको बढीमा ४८ घन्टाअघि कोभिड जाँच गराउनु पर्नेछ । कोरोना संक्रमणको यथास्थितिबारे चीनले पारदर्शी र पर्याप्त तथ्यांक सार्वजनिक नगरेको आरोपसमेत अमेरिकाले लगाइएको छ ।

यसअघि भारत, ताइवान, जापान, मलेसिया र इटालीले पनि चीनबाट आउने यात्रुलाई कडाई गर्न थालिसकेका छन् । करिब तीन वर्षदेखि लागू गरेको शून्य कोभिड नीति अन्तर्गतका कडाई खुकुलो पारेसँगै चीनमा संक्रमण हृवात्तै बढेको छ । झण्डै तीन वर्षको प्रतिबन्धपछि चीनले जनवरी ८ बाट मानिसहरूलाई सहज रूपमा यात्रा गर्न दिने भएको छ ।

जनवरी ८ देखि चीन प्रवेश गर्ने विदेशी यात्रुले अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने छैन भने देश बाहिर जान चाहने चिनियाँहरुका लागि पासपोर्ट आवेदन खुला गरिनेछ ।

प्रतिक्रिया