प्रधानमन्त्री प्रचण्डले पुस २५ गते विश्वासको मत लिने
अखबार टुडे
प्रकाशित:
२०७९, १३ पुष

काठमाडौं, १३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको पहिलो बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।

आइतबार संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले पुस २५ गते सोमबार विश्वासको मत लिने तयारी गरेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १३ दिनको समय राखेर २५ गते सोमबार दिउँसो १ बजे संसदको पहिलो बैठक आह्वान गरेकी छन् । संविधानको धारा ७७ अनुसार आम निर्वाचनपछिको सरकारले पहिलोपटक विश्वासको मत लिएपछि २ वर्षसम्म अविश्वास प्रस्ताव राख्न पाइने छैन ।

प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धनसँगको सहकार्य तोडेपछि एमालेले उनलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो ।

नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ती पार्टी र ३ स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए ।

उनले एकमहिनाभित्र संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसका लागि प्रचण्डले नयाँ गठबन्धनबीच मन्त्रालय र अन्य शक्तिशाली निकायको भागबण्डा टुंगो लगाउने तयारी थालेका छन् ।

प्रतिक्रिया